काठमाडौं । भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी–२० शृंखलामा नेपाल ‘ए’ विजयी बनेको छ। सोमबार भएको निर्णायक अन्तिम खेलमा नेपालले आसामलाई ४४ रनले हराउँदै सिरिज ३–२ ले आफ्नो पक्षमा पारेको हो।
नेपाल ‘ए’ले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर २०८ रनको बलियो योगफल बनायो। टोलीका लागि सन्दीप जोराले ३९ बलमा ६४ रनको धमाकेदार इनिङ खेल्दै जितको आधार तयार गरे। उनले २ चौका र ५ छक्का प्रहार गरे। त्यस्तै शुभ कंसाकारले ४१ तथा इशान पाण्डेले ३२ रन जोडे।
२१० रनको लक्ष्य पछ्याएको आसाम २० ओभरमा ९ विकेट गुमाएर १६४ रनमै रोकियो। आसामतर्फ भार्गव लहकर २९ रनसहित अविजित रहे भने साहिल जेन र कप्तान सुमित घडिअन्करले समान २५–२५ रन जोडे। नेपालका शेर मल्ल, आकाश चन्द र पवन सर्राफले समान २–२ विकेट लिए भने बसिर अहमदले १ विकेट लिए।
यसअघि, शृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ डीएल पद्धति अनुसार १५ रनले पराजित भएको थियो। तर दोस्रो खेलमा ९६ रनले जितेको नेपालले तेस्रो खेल पनि ९ रनले आफ्नो पक्षमा पारेको थियो। चौथो खेलमा भने आसामले १८ रनले जित निकाल्दै सिरिज बराबरीमा ल्याएको थियो। अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल ‘ए’ले ऐतिहासिक रूपमा श्रृंखला आफ्नो पक्षमा पक्का गर्यो।




