मुख्य समाचार

अफगानिस्तान भूकम्पमा ८१२ को मृत्यु, अन्तर्राष्ट्रिय सहयोगका लागि आग्रह

काठमाडौं । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ८१२ पुगेको छ भने घाइते हुनेको संख्या ३ हजार नाघेको छ। भूकम्पपछि अहिलेसम्म ९ वटा परकम्प आइसकेका छन्।

तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानलले उद्धार तथा राहतका लागि अन्तर्राष्ट्रिय सहायताको आह्वान गरेका छन्। उनले भने, “हामीलाई तत्काल सहयोग आवश्यक छ, धेरै मानिसहरूले ज्यान गुमाए र घरहरू भत्किएका छन्।” तर हालसम्म कुनै पनि देश वा अन्तर्राष्ट्रिय संस्थाले प्रत्यक्ष उद्धार वा राहत सहयोगका लागि प्रस्ताव नगरेको अफगान विदेश मन्त्रालयले जनाएको छ।

अल जजिराका अनुसार प्रभावित क्षेत्रमा हालसम्म ३० डाक्टर परिचालन गरिएका छन् र ८ सय किलोभन्दा बढी स्वास्थ्य सामग्री कुनार प्रान्तमा पठाइएको छ। तर दुर्गम हिमाली बस्तीहरूमा पुग्न उद्धारकर्मीहरू संघर्ष गरिरहेका छन्, जहाँ सडक अवरुद्ध र मोबाइल नेटवर्कसमेत ठप्प छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफगानिस्तानस्थित यूएन कार्यालयले प्रभावितलाई सहयोग गर्ने तयारी गरिरहेको बताएका छन्। भारत, चीन, पाकिस्तान, टर्की, अजरबैजानलगायत देशहरूले संवेदना व्यक्त गरेका छन्। चीनले भने अफगानिस्तानको आवश्यकता अनुसार राहत उपलब्ध गराउन तयार रहेको जनाएको छ।

भूकम्पको केन्द्र पूर्वी प्रान्त कुनार र नाग्गारहारमा ६ म्याग्निच्युडको धक्का थियो। अधिकांश गाउँमा माटो र ढुंगाले बनेका घर भत्किएका कारण ठूलो जनधनको क्षति भएको छ।

अफगानिस्तान भूकम्प–संवेदनशील क्षेत्र हिन्दुकुश पर्वत श्रृंखलामा पर्ने भएकाले पटक–पटक विनाशकारी भूकम्पको सामना गर्दै आएको छ। २०२२ मा गएको ६.१ म्याग्निच्युडको भूकम्पमा पनि झन्डै एक हजार मानिसको ज्यान गएको थियो। हाल मानवअधिकार नीतिका कारण अन्तर्राष्ट्रिय सहयोग कटौतीको सामना गरिरहेको अफगानिस्तानमा आएको यो विपत्तिले देशलाई फेरि ठूलो मानवीय संकटमा धकेलेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *