देश

सुमनसिंको घर बनाउन पहिलो किस्ताबापत मुख्यमन्त्री बानियाँले दिए २ लाख रुपैयाँ

हेटौंडा। राक्सिराङ गाउँपालिका–१ इन्द्रुङका विपन्न सुमनसिं चेपाङको घर बनाइदिने घोषणा गरेका बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले घर निर्माणका लागि पहिलो किस्ताबापत २ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।

गाउँपालिकाका जनप्रतिनिधि र नेपाली कांग्रेसका स्थानीय नेताहरुको रोहबरमा बानियाँले घर निर्माणको जिम्मा लिने पक्षलाई सोमबार २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

सुत्केरी श्रीमतीलाई खुवाउने कुरा पनि केही नभएको र बस्ने घर पनि नभई झुप्रोमा बस्दै आएको थाहा पाएपछि राक्सिराङ गाउँपालिका र कांग्रेस राक्सिराङ गाउँपालिकाको सिफारिसमा बानियाँले व्यक्तिगत खर्चमै घर निर्माण गरिदिने घोषणा गर्दै काम थालनी गर्न निर्देशन दिएका थिए ।

मुख्यमन्त्रीमा नियुक्त भएसँगै बानियाँले आफ्नो तलब भत्ताको रकमबाट आफ्नो निर्वाचन क्षेत्रका अति विपन्न परिवार पहिचान गरी घर बनाइदिने घोषणा गरेका थिए । सोही घोषणाबमोजिम राक्सिराङको चेपाङ र मनहरीको एक विपन्न दलित महिलाको घर निर्माण सुरु भएको छ ।

दसैँअघि नै दुवै घर निर्माण सक्नेगरी काम गर्न मुख्यमन्त्री बानियाँले स्थानीय जनप्रतिनिधि र पार्टी नेताहरुलाई निर्देशन दिएका छन् ।

राक्सिराङ–१ का सुमनसिंघको २ वटा कोठा, एउटा भान्छासहित ट्वाइलेट बाथरुम भएको घर दशैँअघि नै निर्माण सम्पन्न गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । घर बनाउन खर्च हुने सबै रकम मुख्यमन्त्री बानियाँले बेहोर्नेछन् ।

मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिका–९ की विपन्न दलित एकल मिठुमाया सुनारको पनि घर निर्माणका लागि यसअघि नै पहिलो किस्ताबापत २ लाख रुपैयाँ हस्तान्तरण गरिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *