पशुपति आर्यघाटमा शव जलाउने क्रममा हड्डी निकालेर बिक्री गरेको आरोपमा पक्राउ परेका चार जना जिल्ला अदालत काठमाडौंको आदेशमा धरौटीमा रिहा भएका छन्।
धरौटीमा छुट्नेहरूमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का रामनन्दन ठाकुर (४२ वर्ष), काभ्रे मण्डनदेउपुरका जीवनाथ उर्फ गणेशप्रसाद ढकाल (६१ वर्ष), उदयपुर कटारी नगरपालिका–८ का विनायक मैनाली (२४ वर्ष) र सप्तरी बलानबिहुल गाउँपालिका–६ का मिश्रीलाल यादव (४१ वर्ष) रहेका छन्।
जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले उनीहरूलाई जनही १० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
घटनाको विवरणअनुसार, २३ साउनमा राम शाहीको शव पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो। त्यतिबेला आर्यघाट सेवा केन्द्रका जीवनाथ ढकाल र उनका सहयोगी विनायक मैनाली खटिएका थिए। आधा शव जलिरहेको अवस्थामा ढकालले टाउकाको हड्डी निकालेर मैनालीलाई दिएका र त्यसलाई कपुरको बट्टामा राखी रामनन्दन ठाकुर र मिश्रीलाल यादवलाई हस्तान्तरण गरेको प्रहरीले जनाएको छ।
उनीहरूविरुद्ध मुलुकी फौजदारी अपराध संहिताअन्तर्गत धर्मसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ।




