काठमाडौं । रौतहटकी रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दका अनुसार पासवान कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत रहेका बेला बुधबार ज्यान गुमाएका हुन्।
पासवान रौतहटको माधवनारायण नगरपालिका–६ मा जलेको अवस्थामा फेला परेका थिए। बिहान करिब साढे ६ बजे उनले आफ्नै शरीरमा पेट्रोल छर्की आत्मदाह प्रयास गरेको अवस्थामा स्थानीयले देखेपछि उद्धार गरिएको प्रहरीले जनाएको छ।
गत शनिबार गौर बजार जान भन्दै डेराबाट निस्किएकी रुबी साह मृत अवस्थामा फेला परेकी थिइन्। उनको शव सुटकेसभित्र प्याक गरिएको अवस्थामा भेटिएपछि प्रहरीले पासवानलाई मुख्य आरोपीका रूपमा अनुसन्धान गरिरहेको थियो।
प्रहरीका अनुसार आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका पासवानलाई तत्काल काठमाडौं ल्याइए पनि उनको जीवन बचाउन सकिएन।




