देश

वीरगन्जमा हैजाको प्रकोप : संक्रमित ७१ पुग्दा १६१ शंकास्पद बिरामी उपचाररत

काठमाडौं । वीरगन्जमा हैजा संक्रमण तीव्र बन्दै गएको छ । आइतबार साँझ ८ बजेसम्मको तथ्यांकअनुसार हैजाका संक्रमितको संख्या ७१ पुगेको हो । शनिवारसम्म ४२ जनामा पुष्टि भएकोमा आइतबार मात्र थप २९ नयाँ संक्रमित भेटिएका छन् ।

महानगरको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार संक्रमितहरू वडा नम्बर ३, ८, ११, १२, १३, १४ र १६ का बासिन्दा रहेका छन् । नारायणी अस्पतालमा २६, तराई हस्पिटलमा २५, नेशनल मेडिकल कलेजमा ९, भवानी अस्पतालमा ३, वीरगन्ज हेल्थकेयरमा २, अलि हस्पिटलमा २, नारायणी सेन्ट्रल अस्पतालमा २ र मंगलम डाइग्नोसिस सेन्टरमा २ जना संक्रमित उपचाररत छन् । यससँगै झाडापखाला र शंकास्पद हैजाका १६१ बिरामी समेत विभिन्न अस्पतालमा भर्ना भइसकेका छन् ।

नारायणी अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहले केही बिरामी उपचारपछि घर फर्किएको बताए । उनले आत्तिनुपर्ने अवस्था नभएको उल्लेख गर्दै स्वच्छ खानेपानी, व्यक्तिगत सरसफाइ र स्वास्थ्य सतर्कतामार्फत हैजाको जोखिम नियन्त्रण गर्न सकिनेमा जोड दिए ।

नियन्त्रणका लागि संयुक्त अभियान

संघ, प्रदेश र स्थानीय तहले हैजा नियन्त्रणका लागि संयुक्त अभियान अघि बढाएका छन् । वीरगन्ज महानगरपालिकाले विशेष स्वास्थ्य टोली परिचालन गरी प्रभावित क्षेत्रमा निगरानी, परीक्षण र रोकथामका कामलाई तीव्रता दिएको छ । जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले अस्पताल र स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । साथै, आवश्यक स्वास्थ्य सामग्री आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

स्थानीय प्रशासन र स्वास्थ्य निकायहरूले नागरिकलाई सचेत रहन, उमालेको वा फिल्टर गरिएको पानी मात्र पिउन र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन अपील गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *