काठमाडौं । कास्की जिल्ला अदालतले सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जनलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
बम्जनलाई अदालतले पक्राउ पुर्जी जारी गरे पनि उनी लामो समयदेखि फरार थिए । आइतबार अदालतमा उपस्थित भएर बयान दिएपछि न्यायाधीश शंकरकुमार राईको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
ठगी प्रकरणको पृष्ठभूमि
२०६५ सालमा पोखरामा स्थापन गरिएको सूर्यदर्शन सहकारीमा ठगी प्रकरण चर्किँदै जाँदा हालसम्म ६३ जनाविरुद्ध अभियोजन दर्ता भएको छ । सहकारीमार्फत १ अर्ब ५१ करोड रुपैयाँ अपचलन भएको दाबी गर्दै बिगो माग गरिएको छ ।
बम्जनले अध्यक्ष पदमा रहेर करिब २६ लाखभन्दा बढी रकम व्यक्तिगत रूपमा दुरुपयोग गरेको अभियोग छ भने, उनले नेतृत्व गर्दा अन्य सहकारी पदाधिकारीसँग मिलेर १ करोड ५४ लाखभन्दा बढी रकम अपचलन गरेको आरोप दर्ता गरिएको छ ।
परिवारिक संलग्नता र सहकारी विस्तार
बम्जन सहकारीका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु ९जीवी० राईका जेठान हुन् । सहकारी स्थापनाको प्रारम्भिक चरणमै उनले पोखरामै दतर्थ समिति बनाएर पूर्व गोर्खा सैनिकलाई आकर्षित गर्ने रणनीति अपनाएका थिए । उनका भाइ डीबी बम्जनसहित परिवारकै संलग्नतामा सहकारीको सञ्जाल विस्तार गरिएको थियो ।
तर, ठगी प्रकरण बाहिर आएपछि उनीमाथि आरोप लागेको विषयमा बम्जनले अदालतमा इन्कारी बयान दिएका छन् ।
मुल मुद्दा
१८ असोज २०८० मा जीवी राईसहितको समूहविरुद्ध मुल मुद्दा दर्ता गरिएको थियो । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पनि यही सहकारी प्रकरणमा संलग्न देखिँदै ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
बम्जनको धरौटीमा रिहाइसँगै सूर्यदर्शन सहकारी ठगी प्रकरण अझै चर्को विवादका रूपमा अदालतमा निरन्तर बहस भइरहेको छ ।




