काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई विशेष अदालतले एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ तथा विदुर कोइरालाको इजलासले सोमबार सुनुवाइ गर्दै पौडेललाई धरौटीमा छाड्ने निर्णय सुनाएको हो।
पौडेलमाथि केन्द्रमा कार्यरत रहँदा करिब १६ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाइएको छ। तर, यो आदेशले मात्रै उनलाई थुनामुक्त गराउने छैन। किनभने यसअघि समेत उनीविरुद्ध दायर अन्य भ्रष्टाचार सम्बन्धी मुद्दामा थुनामा पठाउने आदेश भइसकेको छ।




