बागमती । दक्षिण एसियाकै पहिलो मानिएको हेटौंडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग घुम्न आउनेहरुको सङ्ख्या उल्लेख्य देखिएको छ । हेटौंडा उपमहानगरपालिका अनुसार आठ महिनामा तीन हजारभन्दा बढीले सुरुङमार्ग अवलोकन गरेका छन् ।
सुरुङमार्ग अवलोकनका लागि धेरै जसो विद्यार्थी आउने गरेको सुरुङमार्गको व्यवस्थापन र सुरक्षामा खटिएका उपमहानगरपालिका नगरप्रहरी प्रमुख नेत्रप्रसाद ढकालले जानकारी दिए । शुक्रवार, शनिबार र सार्वजनिक बिदाका दिन विद्यार्थी तथा सर्वसाधारणको संख्या बाक्लो हुने उनको भनाइ छ ।
लामो समयसम्म जीर्ण रहेको सुरुङमार्ग पुनःनिर्माणपछि पर्यटकका लागि खुला गरिएको हो । कूल रु चार करोड ५७ लाखमा प्रदेश यातायात पूर्वाधार निर्देशनालयले सुरुङको पुनःनिर्माण गरी व्यवस्थापनका लागि हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो । सुरुङमार्ग विसं २०८१ पुस ८ गते उद्घाटन गरी सर्वसाधारणका लागि खुला गरिएको थियो ।
हेटौंडा उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख मनोजकुमार सुवेदीले पर्यटकहरुबाट रु एक लाख १७ हजार राजस्व सङ्कलन गरिएको बताए । चालु आर्थिक वर्षको साउनमा मात्रै ४५५ जना पर्यटकहरुले सुरुङमार्ग अवलोकन गरेको र त्यसवापत रु २० हजार ५५० राजस्व सङ्कलन भएको छ ।
सुरुङमार्ग अवलोकनका लागि लागि नेपालीलाई प्रतिव्यक्ति रु ५०, विदेशीलाई प्रतिव्यक्ति रु १००, विद्यार्थीलाई प्रतिव्यक्ति रु २० निर्धारण गरिएको छ ।
मधेस प्रदेशको बारा र बागमती प्रदेशको मकवानपुरलाई जोड्ने उक्त सुरुङमार्ग विसं १९७४ मा तत्कालिन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको थियो । सो सुरुङमार्गबाट विसं २०२० सम्म सवारीसाधन सञ्चालन हुँदै आएका थिए । सुरुङमार्गको विसं २०७९ वैशाख १९ गते जिर्णाेद्वार सुरु भएको थियो ।




