काठमाडौँ।स्वयम्भूनाथमा जारी एकमहिने मेलामा हालसम्म करिब दुई लाख भक्तजनले दर्शन गरेका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म लाग्ने गुँला पर्वको अवसरमा भक्तजनहरुको ठूलो भीड लागेको हो ।
नेवार समुदायका बौद्ध धर्मावलम्बीका लागि गुँला पर्व विशेष महत्व राख्छ । नेपाल सम्वतको नौ महिनामा पर्ने यस पर्वमा स्वयम्भू चैत्यको दर्शन गरी पूजाआजा गर्ने परम्परा छ । यस अवधिमा बाजागाजासहित चैत्यको प्रदक्षिणा गर्नाले दिवङ्गत पितृको बैकुण्ठवास हुने विश्वास रहिआएको महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले जानकारी दिए ।
मेलामा काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रसँगै आसपासका जिल्लाबाट पनि भक्तजन सहभागी हुने गरेका छन् । स्वयम्भूनाथ चैत्यमा दर्शन गरेपछि भक्तजनले विजेश्वरी, शोभा भगवतीलगायतका स्थानमा समेत परिक्रमा तथा पूजाआजा गर्ने परम्परा रहेको छ ।




