देश

‘प्रतिपक्षीलाई विश्वासमा लिएर संसद् बैठक चलाइयोस्’

काठमाडौं । सङ्ख्याका आधारमा प्रतिपक्षी दललाई विश्वासमा नलिई संसद् चलाउन नहुनेमा सांसदहरूले जोड दिएका छन् ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरु गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले उठेर विरोध जनाए ।

सभामुख घिमिरेले रास्वपाका सांसद निशा डाँगीलाई बोल्न समय दिए । सांसद डाँगीले संसद् बहिष्कार विरोधको स्वरूप भएको उल्लेख गर्दै यो विगतमा अहिलेका सत्तारूढ दलहरूले पनि गरेको स्मरण गराए ।

संसद्को विरोध लोकतान्त्रिक मूल्यमान्यताविरुद्ध भनी चित्रण गरेकामा उनले आपत्ति जनाए । सत्तापक्षलाई खबरदारी गर्न रास्वपाले निरन्तर आन्दोलन गरिरहेको सांसद डाँगीको भनाइ थियो । संसद् सङ्ख्याका आधारमा नभई प्रतिपक्षलाई विश्वासमा लिएर अघि बढाउनुपर्ने उनले बताए ।

रास्वपाले दुई महिनादेखि निरन्तर आन्दोलन गरिरहेको र परिणाम शून्य भए पनि यसलाई निरन्तरता दिने सांसद डाँगीको भनाइ थियो ।

जनताको समस्या समाधान गर्न सरकार सुस्त भएको, पक्षपातको मापदण्ड बनाएर उपसभामुखलाई निकाल्न खोजेको, संवैधानिक परिषद् लामो समयदेखि नबसी संवैधानिक निकायलाई रिक्त राखिएको सांसद डाँगीको आरोप थियो ।

सांसद अनिषा नेपालीले भारत र चीनबीच सम्झौता गरी लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र भएर व्यापारिक मार्ग खोल्ने सम्झौताको राप्रपाले विरोध गरेको बताइन् ।

यी भू–भाग नेपालका अविभाज्य स्थान भएको उल्लेख गर्दै उनले राष्ट्रिय सहमतिका आधारमा यो समस्या समाधानका लागि अनुरोध गरिन् ।

भिजिट भिसामा छानबिन आयोग नबनेसम्म राप्रपाले प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने पनि उनले जानकारी गराइन् । दुवै सांसदले बोलिसक्ने बित्तिकै रास्वपा र राप्रपाका सांसदहरू संसद् भवनबाट बाहिरिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *