काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रदेश, पालिका र संघीय सांसदहरूको संख्या बढी भएकाले पुनः विचार गर्नुपर्ने बताएका छन्।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै घिमिरेले संविधान संशोधनको सम्भावना भएकाले यस विषयलाई गम्भीरतापूर्वक छलफल गर्नुपर्ने बताए। तर संशोधन प्रक्रिया त्यति सहज नभएको उल्लेख गर्दै उनले भने, “संविधान संशोधन ठूलो कुरा होइन, तर सजिलो पनि रहेन। एक वर्षभित्र कुन विषय संशोधन गर्ने भन्ने निर्णय गर्नसम्म सकिएको छैन।”
उनका अनुसार राज्यको शासकीय स्वरूप र निर्वाचन प्रणालीलाई नछुने हो भने अन्य विषयमा संशोधन गर्न गाह्रो नपर्ला तर त्यसले खासै अर्थ नहुने प्रष्ट पार्दै उनले हालको आर्थिक अवस्थामा बनेका संरचनाहरू धान्न कठिन भएको जिकिर गरे।
घिमिरेले राजनीतिक पद र संरचना अत्यधिक बढाइएका कारण साधारण खर्च असामान्यरूपमा बढेको उल्लेख गर्दै यसले अर्थतन्त्रलाई भारी पारेको बताए। “प्रदेश, पालिका र संघीय सांसदहरूको संख्या बढी भयो कि भन्ने विषयमा अब गम्भीर विचार गर्नुपर्नेछ,” उनले भने।
संविधान निर्माण प्रक्रियामा व्यवहारिक नभएका केही प्रावधानहरू उत्साहमा समावेश भएकाले पूर्ण कार्यान्वयनमा कठिनाइ भएको घिमिरेको भनाइ छ।




