गण्डकी प्रदेश

बसाइँसराइले रित्तिदै म्याग्दीका गाउँ

म्याग्दी। म्याग्दी जिल्लाबाट वार्षिक करिब दुई सय ५० परिवार अन्यत्र बसाइँसराइ गर्ने गरेका छन् । स्थानीय तहका पञ्जीकरण शाखाका अभिलेखअनुसार जिल्लामा आउने परिवारको संख्या भने वार्षिक सय हाराहारीमा मात्रै छ ।

आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा ८९ परिवार बसाइँसराइ गरेर आउँदा दुई सय ४७ परिवार बाहिरिएका छन् । आव २०८०/८१ मा १०० परिवार मात्र जिल्लामा आउँदा २५२ परिवारले थातथलो छाडेका थिए ।

गत वर्ष बसाइँसराइ गरेर आउनेको संख्या बेनीमा ४५, मङ्गलामा १९, अन्नपूर्णमा १०, मालिका ८, रघुगङ्गा ४ र धवलागिरिमा ३ थियो । तर, बाहिरिने परिवार बेनीबाट ६५, मङ्गलाबाट ५५, अन्नपूर्णबाट ४४, मालिकाबाट ३९, रघुगङ्गाबाट २१ र धवलागिरिबाट २३ रहेका छन् ।

म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापक गोरखबहादुर जिसीका अनुसार रोजगारी र आयआर्जनका अवसर खोज्दै गाउँबाट सहरतिर बसाइँसराइ बढ्दो क्रममा छ । “सडक, बिजुली, खानेपानी जस्ता आधारभूत सुविधा पुगे पनि मानिसलाई रोक्न सकिएको छैन”, उहाँले भन्नुभयो ।

२०७८ सालको जनगणनाअनुसार म्याग्दीमा एक लाख सात हजार जनसंख्या छ, जुन २०६८ को तुलनामा घटेको हो । युवाशक्ति बाहिरिँदा गाउँमा विवाह, मृत्युजस्ता सामाजिक गतिविधिमा प्रौढ र वृद्धको मात्र सहभागिता बढेको स्थानीय चित्र पुनले बताए ।

विद्यालयमा विद्यार्थी संख्या घटिरहेको छ । अन्नपूर्ण गाउँपालिका–७ स्थित टिकोट माविमा हाल ५० जना मात्र विद्यार्थी छन् । प्रअ प्रदीप पुनका अनुसार बजार झर्ने प्रवृत्तिले यो अवस्था आएको हो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले गाउँतिर विकास भए पनि त्यसको उपभोग गर्ने जनसंख्या बजार र विदेश जाने क्रम बढ्नु चुनौती भएको बताए । उहाँले कृषि, पर्यटन र रोजगारमुखी आयोजनामा जोड दिइएको उल्लेख गर्नुभयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *