बैतडी। भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा महिला र बालबालिका हराउने घटना बढ्दो क्रममा छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार गत तीन वर्षमा हराएकामध्ये ५२ जनाको अवस्था अझै अज्ञात छ।
आर्थिक वर्ष २०७९/८० मा १०५ जना हराएकामध्ये ९१ जना फेला परे भने १४ जनाको अवस्था अज्ञात रह्यो। आव २०८०/८१ मा ११५ मध्ये ११३ जना फेला परे। चालु आव २०८१/८२ मा १२२ जना हराएकामध्ये ८६ जना मात्र फेला परेका छन्। बेपत्ता हुनेमा महिला र बालबालिकाको संख्या बढी रहेको प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए।
गत आवमा मात्र ५५ महिला, २७ बालक, २९ बालिका र एकजना ज्येष्ठ नागरिक हराएको निवेदन परेको थियो। त्यसमध्ये ८६ जना फेला परे। प्रहरीका अनुसार निवेदन दिएकामध्ये कतिपय फेला परेपछि जानकारी नदिने भएकाले तथ्याङ्क बढी देखिने गरेको छ।
सीमा क्षेत्रमा सामाजिक सञ्जालको दुरुपयोग र भारततर्फको आवतजावतले पनि बेपत्ता हुने घटना बढाएको प्रहरीको भनाइ छ। गत वर्ष प्रहरीले पाँच महिला, दुई बालक र तीन बालिकाको उद्धार गरी आफन्तको जिम्मा लगाएको जनाएको छ।




