देश

गोङ्गबुका दुई डान्सबारमा प्रहरी छापा, २३ जना पक्राउ

काठमाडौं । काठमाडौँको गोङ्गबु क्षेत्रमा अवैध क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले दुई डान्सबारबाट २३ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार काठमाडौँ महानगरपालिका–२६ मा सञ्चालन भइरहेका गोल्डेन बार एण्ड क्लब र क्रिष्टल बार एण्ड क्लबबाट बुधबार साँझ पक्राउ गरिएको हो।

प्रहरीले जनाएको अनुसार नुवाकोटका पदम सिंह ठकुरीद्वारा सञ्चालित गोल्डेन बार र कञ्चनपुरका ३० वर्षीय सुवास सिंह ठकुरीको क्रिष्टल बारमा ग्राहकलाई प्रलोभनमा पारी लुटपाट गर्ने गतिविधि हुँदै आएको भन्ने उजुरीका आधारमा छापा मारिएको हो।

स्थानीय व्यवसायीहरूले पनि सडकमा हिँड्ने यात्रुलाई फसाएर बारमा लैजाने र त्यहाँ अभद्र व्यवहार गर्ने गरेको भन्दै असन्तुष्टि जनाएका थिए। यसै क्रममा प्रहरीको टोली परिचालन गरेर दुबै बारका सञ्चालकसहित २३ जनालाई नियन्त्रणमा लिइएको हो।

हाल पक्राउ परेकामाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *