देश

पोखरा विमानस्थल निर्माणमा भएको अनियमितता ढाकछोप गरेको सांसद केसीको आरोप 

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिएको अनियमितता सम्बन्धी सार्वजनिक लेखा समितिको प्रतिवेदन कार्यान्वयन नगरेर सरकार भ्रष्टाचार संरक्षणमा संलग्न भएको आशंका पुष्टि भएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले समितिको प्रतिवेदन कुनै व्यक्तिको व्यक्तिगत निष्कर्ष नभई समितिको आधिकारिक निर्णय भएको भन्दै त्यसलाई बेवास्ता गर्नु संसदीय समितिको मर्यादामाथि प्रश्न उठाउने काम भएको बताए ।

उनले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले प्रतिवेदनलाई प्रमाणविहीन र मनगढन्ते भनेर खारेज गर्न खोजेकोप्रति आपत्ति जनाउँदै सरकारको मौनता अस्वीकार्य भएको बताए ।
“सार्वजनिक लेखा समितिको प्रतिवेदन अख्तियार र सरकारले कार्यान्वयन नगर्नु दुःखद र खेदजनक छ,” सांसद केसीले भने, “यसले संसदीय समितिको सम्मानमाथि प्रश्न उठाएको छ र भ्रष्टाचार संरक्षणमा सरकारकै संलग्नताको आशंका पुष्टि गरेको छ ।”

उनले अख्तियारलाई सत्यतथ्यका आधारमा छानबिन गरी आवश्यक कारबाही र निलम्बन प्रक्रिया अघि बढाउन आग्रह गरे ।

सार्वजनिक लेखा समितिको छानबिन प्रतिवेदनअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ कम्पनी चाइना सीएएमसी कन्स्ट्रक्सनको मिलेमतोमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्का प्रक्रिया देखिनै अर्बौँ रुपैयाँको भ्रष्टाचार भएको उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *