देश

ढोरपाटन र निसेलढोरमा स्याउ नफल्दा किसान चिन्तित

ढोरपाटन (बागलुङ)। यस वर्ष बागलुङको ढोरपाटन र निसेलढोर क्षेत्रमा स्याउ नफल्दा किसान चिन्तित बनेका छन् । निसीखोला गाउँपालिका–५ को कुँडे, गाभा, काङललगायत र ढोरपाटन नगरपालिका–९ को नवी, भूजी, स्यालपाखेल क्षेत्रमा स्याउ उत्पादन न्यून भएको छ ।

स्थानीय किसानहरूले गत वर्षको तुलनामा यसपालि झनै कम उत्पादन भएको बताएका छन् । किसान हेमराज सापकोटाले चार रोपनी क्षेत्रमै १० प्रतिशतभन्दा कम स्याउ फलेको उल्लेख गर्दै पछिल्ला तीन वर्षदेखि निरन्तर उत्पादन घटिरहेको बताए । जलवायु परिवर्तनका कारण समयमा वर्षा नहुँदा समस्या भएको उनको भनाइ छ ।

किसान मनबहादुर घर्तीले गत हिउँदमा परेको लामो खडेरीका कारण स्याउ नफलेको बताए । उनका अनुसार इटालियन फुजी जातबाहेक अन्य जातको स्याउ उत्पादन भएन । “पोहोर वर्ष लाखौँको स्याउ बिक्री भएको थियो, तर यसपालि दुई हजारको पनि भएन,” उनले भने ।

जिल्लामा करिब ५७ हेक्टर क्षेत्रमा स्याउखेती हुने गरेकोमा अघिल्ला वर्षमा वार्षिक ३३१ मेट्रिक टन उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीले जानकारी दिए । तर, यस वर्ष उत्पादनमा ठूलो गिरावट आएको उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *