गण्डकी प्रदेश

दमौली अस्पतालमा एक वर्षमा एक लाखभन्दा बढी सेवाग्राही लाभान्वित

दमौली ।प्रदेश अस्पताल दमौलीले गत आर्थिक वर्ष २०८१/८२ मा एक लाख सात हजार ९८३ जनालाई सेवा प्रदान गरेको छ। अस्पताल प्रमुख डा. परिवर्तन बरालका अनुसार विभिन्न सेवा विस्तारपछि सेवाग्राहीको संख्या लगातार बढ्दै गएको छ।

आव २०७८/७९ मा ६४ हजार ५९४, २०७९/८० मा ७३ हजार २५३ र २०८०/८१ मा ९८ हजार ३५६ जनाले सेवा लिएका थिए।

बाहिरङ्ग (ओपिडी) सेवा लिएका बिरामीको संख्या ३६ हजार ६१७, प्रयोगशालाको सेवा लिने ३७ हजार ९२९, अल्ट्रासाउण्ड ५ हजार ९१९, इसिजी ४ हजार २१९ र प्रसूति शल्यक्रियाबाट ५० जनाले सेवा लिएका छन्।

अस्पतालमा हाल ११५ जनाको जनशक्ति छ, जसमा ३१ विशेषज्ञ चिकित्सक, ३६ नर्स, प्रयोगशालाका कर्मचारी आठ, प्रशासनका कर्मचारी सात, अन्य प्रविधिक १३ र सहायक २२ रहेका छन्। हाल ५० शय्यामा सेवा दिइँदै आएको अस्पताललाई गण्डकी प्रदेश सरकारले एक सय शय्यामा विस्तार गर्ने निर्णय गरिसकेको छ।

डा. बरालले सर्पदंश केन्द्र, रक्तसञ्चार केन्द्र, फोहरमैला व्यवस्थापन, डायलाइसिस सेवा क्षमता वृद्धि र अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्न आवश्यक रहेको बताए।

यस अस्पतालको इतिहास विसं २०३४ मा स्वास्थ्यचौकीका रूपमा सुरु भएर २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्र र २०५९ मा पूर्ण अस्पतालको रूपमा स्तरोन्नति भएको हो।

अस्पतालले आकस्मिक सेवा, फार्मेसी, एआरटी, ल्याब, दन्त, आँखा, मानसिक उपचार, डायलाइसिस, डिजिटल एक्सरे, निःशुल्क औषधि कक्ष, आइसीयू सेवा र शव व्यवस्थापनसहितको विस्तारित सेवा प्रदान गर्दै आइरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *