काठमाडौं ।सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्ने तयारीप्रति असहमति जनाएका छन्।
सत्ता साझेदार कांग्रेस र एमालेले उपसभामुख हटाउने उद्देश्यसहित सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका बेला महामन्त्री शर्माले यस्तो कदम अनुपयुक्त भएको टिप्पणी गरेका हुन्। रुपन्देही–३ मा १७ कात्तिकमा हुने उपनिर्वाचनको तयारीका क्रममा भैरहवामा रहेका उनले भने, “उपसभामुख प्रकरणमा म यहींबाट आफ्नो असहमति जनाइसकेको छु।”
शर्माले उपसभामुखले अमेरिकी दूतावासलाई पत्र लेख्नु गम्भीर गल्ती भएको स्वीकार गर्दै पनि पदमुक्त गर्ने प्रक्रियामा अघि बढ्नु उचित नहुने बताए। “प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख वा प्रधानन्यायाधीश विदेश जाँदा देशको प्रतिनिधित्व गरिरहेका हुन्छन्। त्यस्तो अवस्थामा विदेशमै हुँदा उनलाई हटाउन हस्ताक्षर जुटाउनु कति सुसंस्कृत काम हो?” उनले प्रश्न उठाए।
यस्तै, शर्माले पार्टी संसदीय दलको कार्यालयमा संकलन भएको हस्ताक्षरमा आफूले सहभागी नभएको स्पष्ट पारे। काठमाडौं फर्किएपछि यस विषयमा पार्टीभित्र छलफल उठाउने समेत उनले जनाएका छन्।
उपसभामुख रानामगर हाल अमेरिकामा रहेका छन्।




