काठमाडौं । काठमाडौँ उपत्यकामा विद्यार्थीलाई अपहरण गरी लुटपाट गर्दै स्कुटर चोरी गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पाँच दिनअघि लैनचौरस्थित निस्ट कलेजका एक विद्यार्थीलाई स्कुटरमा जबरजस्ती लैजाँदै मोबाइल र अन्य सामग्री लुटिएको घटनापछि प्रहरीले अनुसन्धान तीव्र बनाएको थियो। सोही क्रममा मंगलबार काठमाडौँको म्हेपी पुल र काभ्रेस्थलीबाट छ जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरुमा रामेछाप घर भई काठमाडौँ बस्ने २० वर्षीय प्रकाश तामाङ,काभ्रे घर भएका २२ वर्षीय मिलन तामाङ,नुवाकोटको लिखु घर भएका २५ वर्षीय संग्राम राई,सुनसरी घर भएका २१ वर्षीय दिपेश लिम्बु, स्याङ्जा घर भएका १६ वर्षीय साहिल क्षेत्री, मकवानपुर घर भई टोखामा बस्ने २७ वर्षीय शम्भु माझी रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार प्रकाश र मिलनलाई म्हेपी पुल नजिकैबाट पक्राउ गरिएको हो भने बाँकी चार जनालाई काभ्रेस्थलीबाट नियन्त्रणमा लिइएको हो।
अनुसन्धानमा संलग्न अधिकारीका भनाइमा पक्राउ परेका व्यक्तिहरू चोरी गरिएका स्कुटर प्रयोग गरेर लुटपाट धन्दा सञ्चालन गर्दै आएका थिए। मकवानपुरका शम्भु माझीको साथबाट प्रहरीले चोरीको स्कुटर बरामद गरेको छ। उनका अनुसार सो स्कुटर उनले अरूसँग खरिद गरेको बताएका छन्। प्रहरीले पक्राउ परेकाहरूको साथबाट दुईवटा चोरीका स्कुटर बरामद गरेको छ।




