काठमाडौं । आफ्नै पूर्वपत्नीले बलात्कार र ज्यान मार्ने प्रयास गरेको उजुरी दिएपछि प्रहरी नायब निरीक्षक (इन्स्पेक्टर) दिनेश गुरुङ पक्राउ परेका छन्।
गुरुङ प्रहरी प्रधान कार्यालय, नक्सालस्थित १ नम्बर गणमा कार्यरत थिए। उनलाई हाल जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ।
ललितपुर प्रहरीका एसपी तथा प्रवक्ता चक्रराज जोशीका अनुसार काठमाडौं जिल्ला अदालतले मंगलबार गुरुङविरुद्ध पाँच दिनको म्याद थपेको छ। उजुरी गम्भीर प्रकृतिको भएकाले सोधपुछ र अनुसन्धानलाई अघि बढाइएको जोशीले जानकारी दिए।
यसअघि गुरुङले सामाजिक सञ्जालमार्फत आफू पूर्वपत्नीबाट निरन्तर मानसिक दबाबमा परेको र छोरीसँग भेटघाट गर्न नदिइएको गुनासो सार्वजनिक गरेका थिए। तर, पूर्वपत्नीले भने उनलाई बलात्कार र ज्यान मार्ने प्रयासको आरोप लगाउँदै कानूनी बाटो रोजेकी छन्।
उजुरीसँगै पक्राउ परेका प्रहरी अधिकारीविरुद्धको यो घटना संस्थाभित्रकै अनुशासन र नैतिकता सम्बन्धी बहसलाई पुनः सतहमा ल्याएको छ।




