काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको नाडा अटो सो २०२५ मंगलबारदेखि सुरु हुँदैछ । यस वर्षको अटो शोको प्रमुख आकर्षण भनेको नेपालकै पहिलो इभीटोल (इलेक्ट्रिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ) ‘उड्ने ट्याक्सी’ हो, जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष समारोहबीच सार्वजनिक गर्ने भएका छन् ।
एमएडब्लु वृद्धिले चिनियाँ कम्पनी चांगान अटोसँग सहकार्य गर्दै नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत गर्न लागेको घोषणा गर्दै ‘दिपल’ ब्रान्डको इभीटोललाई प्रदर्शनीमा राख्न लागेको हो ।
ह्युमनोइड रोबोट र भविष्यका कारहरु पनि प्रदर्शन
यसपटक नाडा अटो सोमा नेपालमै पहिलो पटक मानव आकारका ह्युमनोइड रोबोट पनि प्रदर्शनीमा राखिने छन्, जसले आगन्तुकहरुसँग प्रत्यक्ष संवाद गर्ने र मानिससरह गतिविधि प्रदर्शन गर्नेछन् । यसले प्रदर्शनीलाई केवल अटोमोबाइल शो नभई प्रविधिको उत्सव बनाउने आयोजकले जनाएका छन् ।
त्यस्तै, दिपल एस ९५, एस० ७ आईसीए, ई–७ र अवतार ११ जस्ता भविष्यमा प्रयोगमा आउने गाडीहरु समेत प्रदर्शनीमा रहनेछन् । हालै बजारमा आएको दिपल एस–५ ले छोटो समयमा नै उपभोक्तामाझ सकारात्मक प्रतिक्रिया पाएको छ ।
ऐतिहासिक उपलब्धि
‘नेपालमै पहिलो पटक उड्ने ट्याक्सी सार्वजनिक हुनु आफैंमा ऐतिहासिक उपलब्धि हो,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले बताए, ‘उड्ने कार, ह्युमनोइड रोबोट र दिपलका नयाँ इभीहरु प्रदर्शन गरेर हामीले नेपालको मोबिलिटीको भविष्यलाई नयाँ परिभाषा दिन लागेको छौँ ।’ नाडा अटो सो विगतदेखि नै नयाँ प्रविधि प्रदर्शन गर्ने प्रमुख मञ्चका रुपमा परिचित रहँदै आएको छ । यस वर्ष प्रधानमन्त्रीकै हातबाट पहिलो उड्ने ट्याक्सी सार्वजनिक हुने भएपछि कार्यक्रम कार्यक्रमलाई विशेष महत्वका साथ हेरिएको छ ।




