काठमाडैं । राष्ट्रिय समाचार समिति (रासस)का नवनियुक्त महाप्रबन्धक सन्दीप राईले पदबहाली गरेका छन् । रासस केन्द्रीय कार्यालय भद्रकालीमा आज उनले पदबहाली गर्दै पद तथा गोपनीयताको शपथ लिए । सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, नायब महाप्रबन्धक र विभागीय प्रमुखहरूले महाप्रबन्धक राईलाई स्वागत गरे ।
यसैगरी, नेपाल पत्रकार महासङ्घ रासस शाखा र रासस कर्मचारी सम्बद्ध सङ्घ, सङ्गठन र युनियनका पदाधिकारी एवं प्रतिनिधिसहित राससकर्मीहरूले उनलाई स्वागत गरे। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलले नयाँ महाप्रबन्धकको छनोट प्रक्रियाअन्तर्गत दरखास्त आह्वान गरी आवेदकहरूको कार्ययोजना प्रस्ताव प्रस्तुतिसहित अन्तर्वार्ता समेतका आधारमा सिफारिस हुन सफल राई नेपाल सरकार मन्त्रिपरिषद्को गत साउन २६ गतेको मन्त्रिपरिषद्को निर्णयबाट महाप्रबन्धक पदमा नियुक्त लिएका हुन् ।
पदबहालीका अवसरमा कार्यकारी अध्यक्ष झाले युवा र ऊर्जाशील व्यक्तित्वलाई महाप्रबन्धकका रुपमा पाएकामा खुसी व्यक्त गर्दै राससको सर्वोपरि एवं बृहत्तर हितलाई केन्द्रमा राखेर समन्वय तथा सहकार्यका साथ अघि बढ्ने विश्वास दिलाए । उनले भने, “युवा नेतृत्व पाएकामा रासस परिवार खुसी र गौरवान्वित छ । नयाँ ऊर्जा, जोस र जाँगरका साथ नवनियुक्त महाप्रबन्धक आउनुभएको छ । राससको विकास र उन्नयनका लागि प्रतिबद्धताका साथ एक भई लागौँ । राससको राष्ट्रिय र अन्तरराष्ट्रिय छविलाई थप उचाइमा पु¥याउन भरपुर प्रयत्न गरौँ ।”
कार्यकारी अध्यक्ष झाले कर्मठ, योग्य, इमानदार र सुझबुझ भएको नेतृत्व राससले पाएको उल्लेख गर्दै राससलाई अन्तरराष्ट्रियस्तरको समाचार समितिका रुपमा स्थापित गर्ने अभियानमा सबैको साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
नवनियुक्त महाप्रबन्धक राईले आफ्नो कार्यकालमा पारदर्शिता र निष्पक्षतालाई मूल मन्त्रका रुपमा लिने प्रतिबद्धता व्यक्त गरे । उनले राससलाई ‘डिजिटाइज’ गरेर उपलब्ध स्रोतसाधनको भरपुर उपयोग गरी अझ गतिशील र विश्वसनीय समाचार संस्थाका रुपमा स्थापित गराउन यससक्य प्रयास गर्ने बताए ।
महाप्रबन्धक राईले भने , “२०१८ सालमा स्थापित राससको बुलेटिन ‘मेनुअल’ रुपमा रहेको छ । यसलाई ‘डिजिटाइज’ गर्नेतर्फ मेरो कोसिस रहने छ । राससको सुविधासम्पन्न भवन भए पनि कतिपय कुराहरुलाई डिजिटाइज गर्नुपर्नेछ । ‘वेबसाइट, एप्स’लगायत निर्माण गरी नेपाल सरकारको ‘डिजिटल फ्रेमवर्क’को अवधारणाअन्तर्गत नागरिक एप्समा जोड्नसके बढी सेवाग्राहीमाझ पुग्न सक्छौँ ।”
महाप्रबन्धक राईले नेपाली भाषीहरुको बाहुल्यता भएका दक्षिण एसिया, युरोप, अमेरिकालगायत मुलुकमा राससको उपस्थिति बलियो बनाउन पहलकदमी लिने बताए । उनले हाल मन्त्रालयमा रहेको रासस कर्मचारी सेवासर्त विनियमावली छिट्टै ल्याएर कर्मचारीको हितका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले अस्थायी, करार कर्मचारीको समस्यालाई राससको आन्तरिक स्रोतको अवस्थालाई मध्यनजर गरी राससका अध्यक्ष, सञ्चालक बोर्डसँग सल्लाह गरेर व्यवस्थापन गर्न प्रयत्न गरिने विश्वास दिलाए ।
राससका वरिष्ठ कार्यकारी व्यवस्थापक शीतलप्रसाद महतोले व्यवस्थापन र कर्मचारीबीचको प्रभावकारी समन्वय तथा सहकार्यमा राससको सेवालाई चुस्त र प्रभावकारी बनाइने विश्वास व्यक्त गरे ।
राससका नवनियुक्त महाप्रबन्धक राईको सङ्क्षिप्त परिचय :
राष्ट्रिय समाचार समिति (रासस)को महाप्रबन्धकमा पाँचथरका सन्दीप राई नियुक्त हुनुभएको छ । लामो समयदेखि पत्रकारिता र मानवअधिकारका क्षेत्रमा सक्रिय राई विस २०४२ असार २४ गते पाँचथर, फालेलुङ गाउँपालिका–३ मा जन्मिएका हुन् ।
।
मन्त्रिपरिषद्को गत साउन २६ गतेको बैठकले राईलाई राससको महाप्रबन्धक पदमा नियुक्त गरेको थियो । नेपाल सरकारको नीति अनुसार खुला प्रतिस्पर्धाको आधारमा उहाँ महाप्रबन्धक पदमा नियुक्त भएका हुन् । नेकपा (एमाले) निकट प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहनुभएका राई विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन् ।
महाप्रबन्धक राईसँग मोफसल र काठमाडौँमा विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधिमन्त्री वसन्तकुमार नेम्वाङको प्रेस संयोजकसमेत रहेका राईसँग विभिन्न पत्रपत्रिका, रेडियो र अनलाइनमा काम समेत गरिसकेका छन् ।
महाप्रवन्धक राई पूर्वाञ्चल विश्वविद्यालयबाट आम सञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट बिएड गरेका हुन् । अध्ययन, अनुसन्धानमा रुचि राख्ने महाप्रबन्धक राईले अन्तरराष्ट्रिय विश्वविद्यालयहरुमा कार्यपत्र समेत प्रस्तुत गरेको र ख्यातिप्राप्त विभिन्न निकायबाट तालिम र अनुभव हासिल गरेका छन् ।
उनको पत्रकारितासँगै मानवअधिकारको क्षेत्रमा पनि लामो अनुभव छ । साहित्य लेखनमा रुचि राख्ने उहाँका साहित्यसम्बन्धी पुस्तक प्रकाशित छन् । गोरखापत्र दैनिक, नागरिक दैनिकलगायत राष्ट्रिय सञ्चारमाध्यममा उहाँका लेख रचना प्रकाशित छन् ।




