काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले करिब १० वर्षअघि घटेको तीनकुने घटनाबारे सार्वजनिक रूपमा मुख खोलेका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै उनले ०८१ साल चैत १५ गते आफूलाई इन्काउन्टर गर्ने योजना रहेको थाहा पाएपछि प्रहरीकै संरक्षणमा पुगेको दाबी गरेका छन्।
प्रसाईंका अनुसार सो दिन पहिलोपटक गाडी आफैं चलाएर कार्यक्रमस्थलतर्फ जाँदै गर्दा आफूलाई मार्ने षड्यन्त्र भएको सूचना पाएपछि प्रहरी कार्यालय छिरेका थिए। “मैले पुलिसकै गुँडभित्र छिरेँ, त्यही बेला डीएसपीले तपाईंले सही गर्नुभयो भने,” उनले सम्झिए।
मञ्चमा पुगेपछि उनले प्रहरी र आफ्ना समर्थकबीच झडप हुन नदिन आग्रह गरेको बताए। “मैले प्रहरीलाई अश्रुग्यास नहान्न, आफ्ना समर्थकलाई धक्का–मुक्का नगर्न भनेको थिएँ,” उनले सुनाए। त्यतिबेला एक जना सिभिल प्रहरीले आफूलाई इन्काउन्टर गर्ने आदेश आएको जानकारी दिएको र त्यसपछि तत्काल उपत्यका छाडेको उनले दाबी गरे। “कर्फ्यु लाग्दा म उपत्यका बाहिरिसकेको थिएँ,” प्रसाईंले भने।
‘मेरा दिन आएपछि बदमासहरू भाग्न पाउँदैनन्’ प्रसाईंले आफ्नो हिरासतको अनुभवसमेत सुनाउँदै भने, “म ७८ दिन जेलमा बसें, किनभने मेरो दिन आएको थिएन। जब मेरो समय आउँछ, बदमासहरूलाई भाग्ने ठाउँ रहने छैन।” उनले आफूलाई पैसामा किन्न खोजिएको आरोप लगाउँदै “नेपाल र नेपाली नागरिक चाहिएको हो, दलालहरूको राज्य होइन” भन्ने जिकिर गरे। यस्तै अहिले उनले पत्रकार सम्मेलनमार्फत बैँक तथा वित्तिय संस्थाबाट लिएको ऋण सबै तिरेको भन्दै पत्र समेत देखाए ।




