काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भारतीय विदेशसचिव विक्रम मिस्रीले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेकी छन् । त्यस वार्ताका क्रममा नेपाल भारत सम्बन्धका विविध आयामहरुको चर्चा गर्दै आपसी हित, पारस्परिक सम्बन्ध र साझा चासोका विषयहरुमा कुराकानी भएको थियो ।
सो भेटका क्रममा मन्त्री डा.राणाले भारतसँगको सम्बन्धलाई नेपालले सधैँ उच्च महत्व दिँदै आएको बताउँदै नेपालको एक महत्वपूर्ण विकास साझेदारका रुपमा आर्थिक, प्राविधिकसहित विभिन्न क्षेत्रहरूमा नेपाललाई गर्दै आएको सहयोगका लागि भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिए ।
त्यस अवसरमा मन्त्री डा.राणाले दुई देशका बीचमा पछिल्ला समयमा कनेक्टिभिटी बढाउने क्रियाकलापहरुका साथै विभिन्न क्षेत्र र तहमा द्विपक्षीय भेटवार्ता, उच्चस्तरीय भ्रमण तथा कूटनीतिक ’इङ्गेजमेन्ट’ बढेकामा पनि खुसी व्यक्त गरे ।
मन्त्री डा. राणाले कनेक्टिभिटी नेपाल र भारतबीचको सम्बन्धमा अर्थपूर्ण रुपमा सहयोग पुग्ने र दुवै तर्फको पर्यटन एवं आर्थिक क्रियालापहरुका माध्यमबाट पारस्पारिक लाभ पुग्ने क्षेत्र भएकाले रेलवे एवं स्थलमार्गका अतिरिक्त हवाई मार्गहरुको पनि थप विस्तार गरी हवाई कनेक्टिभिटी बढाउनुपर्नेमा जोड दिए ।
साथै उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय शहरहरूबाट थप उडान तथा अतिरिक्त हवाई रुटका लागि आवश्यक सहयोगको वातावरण बनाउने विषयमा सहयोग गर्न पनि आग्रह गरे । साथै नेपालगञ्ज दिल्ली सिधा उडानका लागि पनि आगामी दिनमा वातावरण तयार गर्नुपर्नेमा उनको जोड थियो ।
मन्त्री डा. राणाले भारत सरकारको सहयोगमा निर्माण हुन लागेको धनगढीको फाप्ला क्रिकेट स्टेडियमको निर्माणको तदारुकतामा पनि जोड दिए । यस भेटका क्रममा मन्त्री डा राणाले नेपाल–भारत पारवहन सन्धिका विषयमा छलफल गर्दै व्यापार सहजीकरणमा जोड दिए । साथै पछिल्लो समयमा प्लाईवुड, स्टिल लगायतका उत्पादनको भारत निकासीमा नेपाली निजी क्षेत्रका तर्फबाट समस्या उत्पन्न भएको भनी आएका मुद्दाहरु र बिआइएस मापदण्ड तथा यसमा परिरहेका कठिनाइका बारेमा पनि कुरा उठाए ।
पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाबाट दुवैतर्फ पुग्ने लाभका विषयमा पनि आगामी दिनमा थप कार्यान्वयनका साथ अघि बढ्न तथा बाढी र डुबान नियन्त्रणका बारेमा आपसमा सहकायका साथ अघि बढ्न सकिने विषयमा मन्त्री डा . राणाले जोड दिए ।




