गण्डकी प्रदेश

गण्डकीलाई स्वास्थ्य क्षेत्रको ‘हब’ बनाउने मुख्यमन्त्री पाण्डेको लक्ष्य

गोरखा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई स्वास्थ्य क्षेत्रको ‘हब’ बनाउन सरकार गम्भीर भएको बताएका छन् ।

गोरखा सदरमुकामस्थित गोरखा एनपिआई अस्पतालको आइतबार उद्घाटन गर्दै उनले प्रदेश सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेको उल्लेख गरे । चालु आर्थिक वर्षमा प्रदेशको कुल बजेटको १० प्रतिशत रकम स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको पनि उनले जानकारी दिए ।

मुख्यमन्त्री पाण्डेका अनुसार आफूले पदभार सम्हाल्दा प्रदेशभर १६५ शय्या मात्र अस्पतालमा रहेका थिए भने अहिले यो संख्या बढेर ६५० पुगेको छ । उनले स्वास्थ्य सेवा, चिकित्सा शिक्षा र निजी लगानीमार्फत गण्डकीलाई स्वास्थ्य पर्यटनको केन्द्र बनाउन सकिने सम्भावना औँल्याए ।

“नयाँ अवसर सिर्जना नगरी युवालाई विदेश पलायनबाट रोक्न सकिँदैन,” पाण्डेले भने, “स्वास्थ्य क्षेत्रमा रोजगारी सिर्जना हाम्रो अर्को लक्ष्य हो । विशेषज्ञ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीका लागि आकर्षक अवसर बनाउन सरकार काम गर्दैछ ।”

उनले स्वास्थ्य पूर्वाधार विस्तारसँगै निजी क्षेत्रलाई लगानीमा प्रोत्साहित गर्ने नीति लिइएको स्पष्ट पारे । “जनताको स्वास्थ्य सेवा सर्वोपरी हो, त्यसमा कुनै कमी हुन दिन्नौँ । गण्डकी प्रदेश स्वास्थ्य क्षेत्रमा अब्बल बन्न सक्छ,” पाण्डेले भने । प्रदेश सरकारका नीति वा कानुन निजी लगानीका लागि बाधक भए आवश्यक परामर्श गरेर संशोधन गर्न सकिने उनले उल्लेख गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *