देश

प्रहरी कर्मचारी नजरबन्दमा राखिएको खबर निराधार : नेपाल प्रहरी

काठमाडौं । सामाजिक सञ्जाल र केही अनलाइन मिडियामा “१३ जना प्रहरी कर्मचारीलाई एक वर्षभन्दा बढी समयदेखि नजरबन्दमा राखिएको” भन्ने समाचारप्रति नेपाल प्रहरीले कडा आपत्ति जनाएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा सो समाचारमा कुनै सत्यता नरहेको स्पष्ट गरिएको छ। प्रहरीका अनुसार कुनै पनि प्रहरी कर्मचारीलाई गैरकानुनी रूपमा नजरबन्दमा नराखिएको र समाचारमा गरिएको दाबी पूर्ण रूपमा भ्रामक रहेको बताइएको छ।

प्रहरी नायव महानिरीक्षक तथा केन्द्रीय प्रवक्ता विनोद घिमिरेले विज्ञप्तिमार्फत भने, “आम सर्वसाधारणबाट आएका उजुरी र गुनासोका आधारमा आचरण विपरीत काम गर्ने केही प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावलीअनुसार आवश्यक छानबिनका लागि सुपरिवेक्षण तथा अनुगमन महाशाखाले बोलाएर अनुसन्धान भइरहेको हो। यसलाई नजरबन्दको रूपमा प्रस्तुत गर्नु तथ्यहीन र भ्रम फैलाउने प्रयास हो।”

नेपाल प्रहरीले कानून कार्यान्वयनसँगै मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा सदैव प्रतिबद्ध रहेको दोहोर्‍याउँदै सर्वसाधारणलाई यस्ता भ्रामक समाचारप्रति भ्रमित नहुन आग्रह गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *