देश

नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे(नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको बताएका छन्। आज सामाजिक सञ्जालमार्फत उनले उक्त जानकारी दिएका छन्।

नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ, यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुनेछ”, प्रधानमन्त्री ओलीले भने। उनका अनुसार हालसम्म सुरुङमार्गको भौतिक प्रगति ९३ प्रतिशत पुगेको छ ।

सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेसँगै सरकारले केही दिन अघि सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनका लागि दस्तुर निर्धारण गरेको थियो । जसअनुसार सङ्घीय राजधानी प्रवेश गर्ने कार र भ्यानले रु ६५ र बाहिरिँदा रु ६० तिर्नुपर्नेछ । साथै मिनिबस र मिनिट्रकलाई राजधानी आउँदा रु ११५ र बाहिरिँदा रु ८०, बस र ट्रकले आउँदा रु २६० र फर्कँदा रु २०० तिर्नुपर्नेछ । त्यसैगरी भारी उपकरणका सवारीसाधनको हकमा भने काठमाडौँ आउँदा रु ६०० र फर्कँदा रु २०० दस्तुर निर्धारण गरिएको छ ।

सुरुङमार्ग सञ्चालनमा आएपछि यात्रामा समयको बचत हुनुका साथै ढुवानी मूल्य पनि घट्ने अपेक्षा गरिएको छ । कूल २ दशमलव ६८८ किलोमिटर लम्बाइको उक्त सुरुङमार्गमा तीन दशमलव पाँच मिटर चौडाइका दुई वटा लेन छन् । सुरुङमार्गको दुवैतर्फ नाली पनि बनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *