काठमाडौं । नेपाली कांग्रेसले सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका फरार अभियुक्त देवेन्द्र यादवलाई दिइएको पार्टी सदस्यता खारेज गरेको छ।
सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्माले हिजो यादवलाई पार्टीमा स्वागत गरेको २४ घण्टा नपुग्दै पार्टीले उनको सदस्यता खारेज गरेको हो।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निज व्यक्तिविरुद्ध फौजदारी कानुनी कारबाही प्रक्रिया रहेको जानकारीमा आएकाले कांग्रेसबाट दिइएको सदस्यता खारेज गरिएको छ। साथै कानुनी कारबाही प्रक्रिया अघि बढाउन गृह प्रशासनको ध्यानाकर्षण गराइएको छ।’
यादव लामो समयदेखि प्रहरीको फरार सूचीमा रहेका छन्। उनीमाथि महोत्तरी जिल्ला अदालतमा विचाराधीन मुद्दा छ।





