काठमाडौं । चर्चित विवादास्पद व्यक्तित्व ‘चक्रे मिलन’ (मिलन गुरुङ) विरुद्ध भक्तपुरमा ज्यान मार्ने प्रयाससम्बन्धी पूरक अभियोगपत्र दायर गरिएको छ। सरकारी वकिलको कार्यालयले भक्तपुर जिल्ला अदालतमा यो मुद्दा दर्ता गरेको हो।
२०८१ भदौ १० गते दिव्यश्वरी टाउन प्लानिङस्थित ‘बड्डाको तावा’ क्षेत्रमा मिलनको योजनामा मनिष रायमाझीमाथि खुकुरी प्रहार भएको आरोप छ। यस प्रकरणमा सर्लाही हरिवन–४ का २५ वर्षीय खवासलाई गत वर्ष पक्राउ गरिए पनि मिलनको ठेगाना नखुलेकाले मुद्दा रोकिएको थियो। हाल ठेगाना पत्ता लागेपछि बयान लिएर अनुसन्धान प्रतिवेदन अदालतमा बुझाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए।
शुक्रबार मात्र बयान र थुनछेक प्रक्रिया सम्पन्न गरी मिलनलाई प्रहरी वृत्त थिमीको हिरासतमा राखिएको छ। यसअघि साउन १५ गते महाराजगञ्जस्थित साम्बाला होटलमा जन्मदिन मनाइरहेका बेला उनलाई काठमाडौं प्रहरीले अभद्र व्यवहार मुद्दामा पक्राउ गरी ३० हजार धरौटीमा छोडेको थियो।
गोर्खा छोप्राक घर भएका मिलन सन् १९९३ (वि.सं. २०५०) देखिनै गुण्डागर्दी गतिविधिमा संलग्न हुँदै आएका छन्। २०७४ वैशाख २६ मा पनि उनी महाराजगञ्जबाट पक्राउ परेका थिए।




