काठमाडौं । संगठित सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दी कोठामा रहेको प्लाइउड हटाएर जाली जडान गरिएको छ।
कारागार प्रशासनका अनुसार लामिछानेलाई सुरक्षाका कारण छुट्टै बन्दीगृहमा राखिएको छ, जहाँ शौचालय, टेलिफोन र भेटघाट सुविधा उपलब्ध छन्। सुरुमा झ्याल प्लाइउडले ढाकिएको भए पनि आलोचना भएपछि त्यसलाई हटाई जाली राखिएको प्रशासक सुरेश भण्डारीले जानकारी दिए।
रुपन्देही कारागारको क्षमता २५० भए पनि हाल त्यहाँ ६४० कैदीबन्दी रहेका छन्। क्षमताभन्दा बढी कैदी भए पनि कारागारले उपलब्ध स्रोत साधन प्रयोग गरी कानुनअनुसारका सेवा सुविधा दिन निरन्तर प्रयास भइरहेको प्रशासनले जनाएको छ।
लामिछाने पछिल्ला चार महिनादेखि त्यहाँ थुनामा छन्। कारागारले जारी गरेको सूचनामा उनलाई सुरुदेखि नै उपलब्ध गराइएका सुविधा यथावत् रहेको स्पष्ट गरिएको छ।




