काठमाडौँ। भाद्र कृष्ण पञ्चमीका अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–४ स्थित कोलमतीघाटमा आज धार्मिक स्नान गरिँदैछ।
स्कन्द पुराणको हिमवत्खण्ड (नेपाल माहात्म्य) मा उल्लेख अनुसार, यस दिन यहाँ स्नान र दर्शन गरेमा करोडौँ गोदान बराबरको पुण्य प्राप्त हुने विश्वास छ। कोललाई ‘बराह’ भनिएकाले श्वेतबाराहीबाट बगेर आएको नदीलाई ‘कोलमती’ नाम दिइएको र बाग्मतीमा मिसिने स्थानलाई कोलमतीघाट भनिन्छ।
कोलमती, चैलमती र बाग्मती नदीको संगमस्थललाई त्रिवेणीघाट मानिन्छ। धार्मिक ग्रन्थमा भगवान् विष्णुले सत्ययुगमा यहाँ स्नान गरेको उल्लेख छ। यद्यपि गोकर्णेश्वर क्षेत्र नजिकै भएकाले यो तीर्थस्थल तुलनात्मक रूपमा कम परिचित छ।




