काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कारागार सुधारका लागि विभिन्न कदम चालिने बताएका छन्। प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले यही साउन २२ गते धनगढी कारागारमा भएको झडपसम्बन्धी विवरण प्रस्तुत गर्दै, कारागारभित्र क्षमताभन्दा बढी बन्दी बस्ने समस्या रहेको स्पष्ट गरे।
मन्त्री लेखकका अनुसार, कारागारलाई सुधारगृहको रूपमा विकास गर्ने नीति अन्तर्गत अस्पताल, विद्यालय, कारखाना र खेलमैदानलगायतका सुविधासहितको संरचना निर्माण गर्ने योजना छ। तर, बन्दीहरूको इच्छा अनुसार साना कारागारमा क्षमताभन्दा बढी बस्ने प्रवृत्ति देखिएको छ।
धनगढी कारागारमा झडपपछि घाइते ४८ जना बन्दी अस्पतालमा उपचारका लागि लगिएको र मृतकको शव परिवारको जिम्मा लगाइएको छ। झडपपछि आन्तरिक सुरक्षा कायम गर्न विशेष खानतलासी, निरीक्षण र समूहगत सरुवा समेत गरिएको थियो।
मन्त्री लेखकले केन्द्रीय कारागार नुवाकोट निर्माण, जीर्ण कारागारको पुनर्निर्माण, विद्युत् महसुलमा सहुलियत, सबै बन्दीहरूको स्वास्थ्य बीमा र उपचार खर्च मितव्ययी बनाउने प्रतिबद्धता व्यक्त गरे। विदेशी बन्दीहरूको उपचार खर्च बढेमा सम्बन्धित देशमा फिर्ता पठाउने नीति बनाउने योजना पनि उनले उल्लेख गरे।
उहाँले सवारीसाधन र इन्धन अभाव, अदालतमा उपस्थितिको सट्टा भिडियो कन्फरेन्स प्रयोग, बाल सुधारगृहमा बालबालिकाको उचित शिक्षा सुनिश्चित गर्ने लगायतका व्यवस्थापन कार्यलाई छिटो अघि बढाउने योजना रहेको बताए।
कारागारमा बन्दीहरूमध्येबाट नेतृत्व चयन गरी आन्तरिक व्यवस्थापन गर्ने प्रचलन रहेको छ। यस प्रक्रियाले निश्चित दिन कैद छुट पाउने अवसर उपलब्ध गराउने भएकाले बेला बेलामा झडप हुने समस्या देखिएको पनि मन्त्री लेखकले बताए।




