देश

युवालाई लागुऔषधबाट बचाउन सशक्तीकरणका कार्यक्रम ल्याएका छौँः मुख्यमन्त्री शाह

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले युवालाई लागुऔषधबाट बचाउनका लागि सरकारले सशक्तीकरणका कार्यक्रमहरू ल्याएको बताएका छन् ।

अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा प्रदेश युवा परिषद्ले आज कैलालीको बर्दगोरियामा आयोजना गरेको कार्यक्रममा उहाँले युवा लागूपदार्थ दुर्व्यसनीमा फस्दै गएकाले यसको नियन्त्रण जरुरी रहेको बताए ।

“पछिल्लो समय कुलत भाइरस जसरी फैलिरहेको छ । यसबाट बचाउनका लागि प्रत्येक जिल्लामा युवा सशक्तीकरणका कार्यक्रम अघि बढाएका छौँ”, मुख्यमन्त्री शाहले भने,“युवापुस्तालाई सही मार्गमा ल्याउनका लागि युवाहरूको पहलमार्फत नै विभिन्न कार्यक्रम ल्याएका छौँ । अब तिनको सही कार्यान्वयन गरिनुपर्छ ।”

नेपाली जनताको हक अधिकार स्थापित गर्ने आन्दोलनको नेतृत्व युवा वर्गले नै गरेको चर्चा गर्दै उहाँले युवाहरू रूपान्तरणको संवाहक भएको बताए ।

अहिलेको युवा वर्गसँग जोडिएर सरकार अगाडि बढ्न चाहेको मुख्यमन्त्री शाहको भनाइ थियो । उहाँले युवा शक्तिलाई सुदूरपश्चिमको विकास र समृद्धिसँग जोड्ने कुरामा सबै मिलेर अगाडि बढ्न आह्वान गरे ।

कार्यक्रममा सामाजिक विकास मन्त्री मेघराज खड्काले युवा शक्तिहरूलाई कसरी नेपालमै टिकाउन सकिन्छ भन्नेतर्फ सरकार लागेको बताउनुभयो । उनले भने, “उद्योग, व्यवसाय, कृषिलगायत क्षेत्रमा युवालाई उन्मुख गराउनका लागि एक पालिका दुई उत्पादनका कार्यक्रम ल्याएका छौँ । युवाको नवीन सोच र सृजनशीलतालाई कसरी यही ठाउँमा प्रयोग गर्न सकिन्छ भन्ने सोचका साथ हामी अगाडि बढिरहेको छौँ ।”

कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का, सुदूरपश्चिम प्रदेश सदस्य सन्तोषी थापा, पूर्वमन्त्री नारदमुनि राना, गौरीशंकर थारु, पूर्वराष्ट्रियसभा सदस्य कमला वली, प्रदेश नीति तथा योजना आयोगका सदस्य नृपबहादुर सुनार, बर्दगोरीया गाउँपालिका अध्यक्ष कर्ण कुँवरलगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा कृषि क्षेत्रमा योगदान गर्ने बर्दगोरीया गाउँपालिका-५ का कृषक कमलदेव चौधरी र विज्ञान क्षेत्रमा योगदान पुर्‍याएको भन्दै खगोलविज्ञ अरुण लोहारलाई जनही रु. १० हजार र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । अरुणलाई बर्दगोरीया गाउँपालिकाले एक थान ल्यापटप र प्रदेश सरकारले प्रोत्साहनस्वरूप रु एक लाख प्रदान गर्ने घोषणासमेत गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *