देश

कर प्रणालीलाई पारदर्शी बनाउनुपर्ने

काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले देशको कर प्रणालीलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनीहरूले पुँजीवादी मुलुकमा पनि प्रगतिशील कर प्रणाली अवलम्बन गरिएको चर्चा गर्दै कर प्रणाली पारदर्शी नहुँदा वित्तीय अनुशासन कायम हुन नसकेको बताए ।

नेपाली कांग्रेसका नारायणदत्त मिश्र र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की उर्मिला अर्यालले कर प्रणालीलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिएका हुन् ।

चिनीले भरिएका बोरालाई चामल भनेर भन्सारबाट बिल बनाइने गरेको आरोप सांसद मिश्रले लगाए । राष्ट्र निर्माणमा महिलाले गरेको योगदानको कदर नभएको तथा उनीहरूलाई उचित स्थान नदिइएको गुनासो सांसद अर्यालको थियो ।

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सांसद मदनकुमारी शाह (गरिमा) ले युवा लक्षित नीति तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।

नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले अविरल वर्षाका कारण देशका विभिन्न भागमा पहिरो खस्दा सडक अवरुद्ध भएकाले तिनको मर्मत सम्भारलाई प्राथमिकता दिन सरकारसँग अनुरोध गरिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *