मुख्य समाचार

कोशी प्रदेशमा मन्त्री फेरबदलको चर्चा : मुख्यमन्त्री कार्कीले ओली–देउवासँग गरे छलफल

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्री फेरबदलको सम्भावित विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री ओलीसँग भएको भेटमा मुख्यमन्त्री कार्कीले प्रदेशको समग्र राजनीतिक अवस्था र मन्त्री फेरबदलसम्बन्धी संभावनाबारे जानकारी गराएका थिए । यसअघि केही दिन अघि देउवासँग पनि उनी छलफलका लागि भेटेका थिए ।

मुख्यमन्त्री कार्कीले भने, “राजनीतिक विषयमा गफगाफ भयो, सरकारका कामकाजबारे रिपोर्टिङ पनि गरें ।” देउवासँगको भेटमा पनि प्रदेशको परिस्थिति स्पष्ट पारेको जानकारी दिए । स्रोतका अनुसार, मन्त्री फेरबदलको विषयमा प्रधानमन्त्री ओली र सभापति देउवाले सल्लाह गरेर निर्णय गर्ने बताएको छ । मुख्यमन्त्रीले भेटमा यो विषयलाई खुल्ला रूपमा चर्चा गरेपनि सम्पूर्ण विवरण सार्वजनिक गर्न चाहेका छैनन् ।

प्रदेशमा मन्त्री फेरबदलको प्रक्रिया ‘कोलिसन पाटनर’ अर्थात गठबन्धनका दलहरूसँग समन्वयबिना अगाडि नबढ्ने बताइएको छ । स्रोतले भने, “प्रधानमन्त्री र कांग्रेस सभापतिसँग सल्लाह गरेर मात्र निर्णय हुन्छ, माथिबाट निर्देशन आएर मन्त्री फेरिदैनन् ।” कोशी प्रदेशमा नेपाली कांग्रेसका आन्तरिक विवाद र हालै बागमती प्रदेशमा देखिएका झगडाका कारण देउवाले मन्त्री फेरबदलमा केही समय रोक लगाएको बताइन्छ । कांग्रेस संसदीय दल भित्र पनि विभिन्न समूहबीच संघर्ष जारी छ ।

मुख्यमन्त्री कार्की नेतृत्वको सरकारले विवादमा फसेका मन्त्रीहरू पनि छन् — पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलमाथि घुस मागेको आरोप छ भने कृषिमन्त्री खगेनसिंह हाङगाम गृह जिल्ला ताप्लेजुङमा विवादित भएका छन् । साथै, अन्य मन्त्रीहरूसँग कार्कीको सम्बन्ध पनि तनावपूर्ण रहेको बताइन्छ । प्रतिपक्षी दलहरू र नेकपा माओवादी केन्द्रले पनि मन्त्रीहरूमा लागेको घुस विवादको विषयमा मुख्यमन्त्रीलाई जवाफ दिन दबाब दिइरहेका छन्, तर कार्कीले अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।

एमाले संसदीय दलका एक स्रोतले भने, “मन्त्रिपरिषद् सदस्य फेरबदलले नै मुख्यमन्त्रीको जवाफ दिने छ, मन्त्रीहरू फिर्ता हुनेक्रम दुवै दलबाट हुनेछ । कांग्रेसमा समस्या देखिन्छ, एमालेमा भने केही छैन ।” वर्तमान सरकारमा कांग्रेसका संस्थापन समूहहरूबीच असहमति छ भने डा। शेखर कोइराला समूह सरकारमा सहभागी छैन । मन्त्री फेरबदल गर्दा देउवा र कृष्णप्रसाद सिटौलाका समूहबीच भागबन्डाको प्रतिस्पर्धा बढ्ने सम्भावना रहेको छ ।

स्रोतहरूका अनुसार विवाद बढेकाले कांग्रेसले कोशी प्रदेशमा मन्त्री फेरबदलमा हतार नगर्ने रणनीति अपनाएको छ । तर, विवादित मन्त्रीहरूका कारण मुख्यमन्त्री कार्की दबाब भने तीव्र बनाइरहेको बताइन्छ । कोशी प्रदेशको राजनीतिक परिदृश्य अझै केही दिन अनिश्चित रहन सक्ने देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *