देश

कैलाली कारागारमा कैदीबन्दीबीच झडप, परिस्थिति प्रहरीको नियन्त्रणमा

सुदूरपश्चिम। धनगढीस्थित कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार कारागार परिसरमा ५० जना सुरक्षाकर्मी परिचालन गरिएका छन्। “परिस्थितिलाई सामान्य बनाउन र भेटघाटको व्यवस्थापन गर्न प्रहरी तैनाथ गरिएको छ,” उनले भने।

घटनाबारे छानबिन गर्न प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा समिति गठन गरेको छ।

शुक्रबार राति ब्लक ‘ए’ र ब्लक ‘बी’ मा बस्ने कैदीबन्दीबीच भएको झडपमा घाइते धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको उपचारका क्रममा मृत्यु भएको छ। अन्य ४४ घाइते कैदीबन्दीको सेती प्रादेशिक अस्पताल नजिकैको अस्थायी अस्पतालमा उपचार भइरहेको छ।

यसअघि बिहीबार राति पनि कैदीबन्दीबीच झडप भएको थियो। प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले स्थलमै पुगेर सम्झाइबुझाइ गरेपछि अवस्था सामान्य बनेको भए पनि, पुनः शुक्रबार राति ढुङ्गामुढा सुरु भएको कारागारका कर्मचारी रामप्रसाद चौधरीले बताए।

गएको असार २८ गते पनि यहाँ कैदीबन्दीबीच कुटाकुट भएको थियो। कैदीबन्दीको सरुवाबारे मतभेद हुँदा पटक–पटक विवाद र झडप हुने गरेको जनाइएको छ। १५० जनाको क्षमता भएको कैलाली कारागारमा हाल ६८० जना कैदीबन्दी रहेका छन्।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *