काठमाडौं । कैलाली जिल्ला कारागारमा कैदीहरूबीच भएको भिषण झडपमा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । शुक्रबार राति भएको उक्त रक्तपातपूर्ण घटनामा धनगढी उपमहानगरपालिका-४ का भरत चौधरीको ज्यान गएको हो ।
१५० जनाको क्षमता भएको कैलाली कारागारमा हाल ७०० भन्दा बढी कैदी रहेका छन् । शुक्रबारको घटनापछि अवस्थाको निरीक्षण र अनुसन्धान गर्न गएका प्रमुख जिल्ला अधिकारी गोगन हमाल र जिल्ला प्रहरी प्रमुखसहितको सुरक्षा टोलीलाई कैदीहरूले घटनास्थलमा जानबाट रोकेका थिए । उनीहरूले कारागार प्रशासनको विरुद्ध नाराबाजी गर्दै सुरक्षा टोलीलाई प्रवेश नदिएपछि टोली घटनास्थलको निरीक्षण नगरी फर्किएको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, घाइते भएका ४७ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । कारागारको ‘ए’ र ‘बी’ ब्लकमा रहेका कैदीबन्दीहरूबीच झडप भएको थियो ।
यो घटना कुनै आकस्मिक भने होइन । कारागारमा केही समयदेखि नै तनाव चुलिँदै गएको थियो । बिहीबार मात्रै कैदीबीच भएको सामान्य झडपमा ५ जना घाइते भएका थिए ।




