काठमाडौं । जब जिन्दगीको मूल्य पैसाले तोकिन थाल्छ, त्यहीँबाट अपराधको बजार खुल्छ। पछिल्लो समय सार्वजनिक भएको एक भयावह मिर्गौला तस्करी प्रकरणले यस्तै अमानवीय यथार्थलाई सतहमा ल्याएको छ। नेपाली नागरिकहरूको मिर्गौला भारतको राजधानी दिल्लीसम्म पुर्याएर बेच्ने गिरोह नेपाल प्रहरीको फन्दामा परेको छ। प्रारम्भिक अनुसन्धानमा कम्तीमा १५० भन्दा बढी नेपालीहरू यस्तै तस्करीको सिकार भएको पुष्टि भइसकेको छ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले डेढ महिनासम्मको निगरानीपछि काभ्रेका राजकुमार परियार, नुवाकोटका समीर नेपाली र राकेश नेपालीलाई पक्राउ गरेको छ। उनीहरूले नुवाकोट, सिन्धुपाल्चोक र काभ्रेका विपन्न सर्वसाधारणलाई होटल कामको लोभ देखाएर दिल्ली लग्थे, अनि त्यहीँ ६–७ लाख कमाउने सपना बाँडेर उनीहरूकै मिर्गौला झिक्थे।
खास कुरा त के हो भने, तीनमध्ये एक, समीर नेपाली, आफैं पनि मिर्गौला बेचिसकेका व्यक्ति हुन्। आफू पीडित बनेर पछि दलाल बनेका उनले अरूलाई तान्न सुरु गरे। माफिया शैलीमा काम गर्ने गिरोहले दिल्लीमा प्रतिमिर्गौला २० लाख भारुभन्दा बढीमा बेच्ने गरेको प्रहरी बताउँछ।
खुलासा भयो किन?
यो दुस्खद चक्र त्यतिबेला सार्वजनिक भयो जब एक पीडितले मिर्गौला झिकेपछि उपायुक्त रकम नपाएपछि नेपाल फर्किएर उजुरी गरे। उनले भनेको ६ लाख पनि नदिएपछि प्रहरी ब्यूरोसम्म पुग्दा सिंहदरबार हल्लिने खालको मानव तस्करीको कथा बाहिर आयो।
एसएसपी कृष्ण प्रसाद पंगेनी भन्छन्, ूदिल्लीका माफियासँग मिलेर मिर्गौला ‘स्टोर’ गर्ने काम समेत भइरहेको आशंका छ।ू यो केवल तीन जनाको काम हो भन्नु सरलीकरण मात्रै हो। उनीहरूलाई मेडिकल, बसोबास, दिल्लीसम्म यातायात, ग्राहकसँगको मिलाप — सबै व्यवस्था यो सञ्जालले गरिरहेको देखिन्छ।
सिस्टमको असफलता वा नियन्त्रित मौनता ?
नेपालजस्तो देशमा, जहाँ बेरोजगारीको दर उच्च छ, त्यहाँ ‘६ लाखको प्रस्ताव’ धेरैका लागि जीवन बदल्ने सपना हुनसक्छ। तर यस्तो सपना बेच्न पाइने र त्यसको तस्करी हुने ठाउँ बनिरहेको छ भने कानुन, सरकार र सामाजिक संरचनाको असफलता स्पष्ट छ।
मिर्गौला बेचेर पैसा कमाउने चाहना नभई बाध्यता हो। र त्यो बाध्यता दलालले बलियो हतियार बनाएका छन्। यस्तो नेटवर्क एकदिनमै बनेको होइन। प्रश्न उठ्छ — यतिका वर्षसम्म किन कसैले देखेनरु नदेखे कि देखेर पनि चुप लागेरु
दिल्लीमा करोडौंको अंग व्यापार चलिरहेका बेला नेपालभित्र मानवता, सुरक्षाका नारा खोक्रा साबित भइरहेका छन्। यो प्रकरण सिर्फ कानुनी मुद्दा होइन — सामाजिक, नैतिक र राज्य संयन्त्रको गहिरो असफलताको प्रतीक हो। मिर्गौला बेच्ने नेपालीहरू अपराधी होइनन्, उनीहरू हामीले धोके गरेका पीडितहरू हुन्।
अब समय आएको छ—शरीर बेचेर बाँच्नुपर्ने व्यवस्था भत्काउने। अनि दलालहरू होइन, ती दलालीलाई सम्भव बनाउने संरचनालाई जिम्मेवार बनाउने।




