काठमाडौं । १९ वर्षअघि सुनसरीमा भएको एक हत्या घटनाका मुख्य दोषी अन्ततः प्रहरीको फन्दामा परेका छन्। फरार अवस्थामा रहेर नागरिकता समेत नक्कली बनाएका रुपलाल धामी उर्फ सन्दिप धामीलाई प्रहरीले काठमाडौंको सामाखुशीबाट पक्राउ गरेको हो।
धामीसहित ८ जनाले २०६१ साल फागुन १० गते पुरानो रिसइबीको कारण नरेन्द्र मोक्तानको निर्मम हत्या गरेका थिए। रातको समयमा मोक्तानको घरमै पुगेर हतियारले आक्रमण गर्दै हत्या गरि शवलाई नालामा फालेको विवरण प्रहरीले पुष्टि गरेको छ। घटनापछि अदालतले धामीलाई जन्मकैदको सजाय सुनाएको थियो, तर उनी वर्षौंसम्म फरार रहँदै आएका थिए।
प्रहरी अनुसन्धानमा खुलेको तथ्यले झनै चकित पार्छ — धामीले पक्राउ नपर्न ‘मामा’लाई ‘बाबु’ बनाउँदै नक्कली नागरिकता बनाएका थिए। २०६८ जेठ २६ मा सुनसरी जिल्ला प्रशासन कार्यालयबाट उनले ननुलाल धामीको नाममा वंशज देखाएर नागरिकता बनाएका थिए।
अब उनलाई जन्मकैदको सजाय भुक्तान गराउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। फरार प्रतिवादीलाई यति लामो समयपछि मात्र पक्राउ गर्न सकिएको घटनाले देशको अपराध अनुसन्धान प्रणालीप्रति पनि अनेक प्रश्न उठाएको छ।




