गण्डकी प्रदेश

तनहुँमा नस्ल सुधारका लागि नौ हजार बढी पशुमा कृत्रिम गर्भाधान

दमौली। तनहुँमा गत आर्थिक वर्षमा नौ हजारभन्दा बढी पशुमा कृत्रिम गर्भाधान गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका अनुसार २०८१/८२ मा जिल्लाभर ९ हजार ५५२ पशुमा कृत्रिम गर्भाधान गरिएको हो।

कृषकहरू कृत्रिम गर्भाधानप्रति आकर्षित भइरहेका छन्। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ८ हजार ११३ र २०७९/८० मा ७ हजार ९१६ पशुमा गर्भाधान गरिएको थियो। केन्द्र प्रमुख रविनसन अधिकारीका अनुसार दुधालु गाईको नस्ल सुधार तथा उत्पादन वृद्धिका लागि सरकारले कृत्रिम गर्भाधानलाई प्राथमिकता दिएको हो।

उनका अनुसार यो प्रविधिले कम उत्पादन गर्ने स्थानीय पशुको उत्पादकत्व बढाउनुका साथै हाडनाता प्रजननको जोखिम कम गर्न र विभिन्न रोगको सर्ने सम्भावना घटाउन मद्दत पुर्‍याउँछ। कृत्रिम गर्भाधान गरिएको पशुले तीन वर्षभित्रै उत्पादन दिन थालेमा बाह्य जिल्लाबाट उन्नत जातका पशु ल्याउनु पर्ने आवश्यकता पनि हट्ने अधिकारीले बताए।

गत वर्ष कृत्रिम गर्भाधान गरिएका पशुमध्ये गाईको संख्या सबैभन्दा बढी ५ हजार ३७ रहेको छ। त्यसपछि ४ हजार ४१७ भैँसी, ७६ बाख्रा र २२ बङ्गुरमा गर्भाधान गरिएको छ।

१० वटा गर्भाधान केन्द्रमार्फत सेवा दिइएकोमा आँबुखैरेनीबाट १,३४९, शुक्लागण्डकीबाट १,९६१, बन्दीपुरबाट १,२२२, व्यासबाट ३४५, भानुबाट ६८८, भिमादबाट ६०६, म्याग्देबाट ६१९, देवघाटबाट ६६५, ऋषिङबाट १२ र केन्द्र आफैंबाट २,०८५ पशुमा गर्भाधान गरिएको हो। घिरिङ गाउँपालिकामा भने गर्भाधान केन्द्र छैन।

त्यस्तै, एक वर्षमा तीन हजार ६९० पशुको उपचार गरिएको छ। तीमध्ये अधिकांश व्यास नगरपालिकाका छन्। साथै गोरखा, लमजुङ र कास्कीका किसानले समेत बिरामी पशु उपचारका लागि केन्द्रमा ल्याउने गरेका छन्।

केन्द्रका अनुसार गाई र भैँसीपालन घट्दै गएको र बाख्रापालनको संख्या बढ्दो छ। एक वर्षमा गाई २,४८२ र भैँसी २,८८३ ले घटेका छन् भने बाख्रा ४०३ ले बढेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *