म्याग्दी।म्याग्दीको बेनी नगरपालिका–५, गाजेनस्थित ऐतिहासिक तथा धार्मिक महत्वको जगन्नाथ मन्दिरमा बुधबार रथयात्रा सम्पन्न भएको छ। श्रावण शुक्ल द्वादशीको अवसर पारेर भगवान् जगन्नाथको मूर्ति सार्वजनिकरूपमा रथमा राखी नगर परिक्रमा गराइएको हो।
रथयात्रा जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा गरिएको थियो। गुठीका अध्यक्ष नीलकण्ठ शर्माका अनुसार बाइसे–चौबिसे राज्यकालमा राजा दिलीपबम मल्लद्वारा स्थापना गरिएको यो मन्दिरमा प्रत्येक वर्ष उक्त तिथिमा मात्र रथयात्रा गरिने परम्परा छ।
रथयात्रामा बेनी नगरपालिका, रघुगङ्गा र मङ्गला गाउँपालिका तथा छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाबाट भक्तजनको उल्लेखनीय सहभागिता देखिएको थियो। भजनकीर्तनसहित आयोजित यात्रामा जनप्रतिनिधि र स्थानीयवासी समेत सहभागी थिए।
गुठीका सचिव रामचन्द्र पौडेलका अनुसार विगतमा स्थानीयस्तरमा सीमित रथयात्रा हुँदै आए पनि पछिल्ला वर्षमा भगवान् जगन्नाथको महिमाको प्रचार बढेसँगै टाढाबाट समेत भक्तजन आउने क्रम बढेको छ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले मन्दिरसम्म पुग्ने सडकमार्ग निर्माण भइसकेको जनाउँदै धार्मिक पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले पूर्वाधार विस्तार र प्रचारप्रसारमा पहल गर्ने बताए।
ई.सं. १५५० मा राजा दिलीपबम मल्लद्वारा स्थापित ५३१ वर्ष पुरानो मन्दिरलाई नेपालमै फरक ढाँचामा पुनर्निर्माण गरिएको छ। मन्दिरमा जगन्नाथसहित डिम्ब महाराज, गणेश, रामलक्ष्मण, कृष्ण, बलराम, नृसिंह र चतुर्बाहुका मूर्तिहरू राखिएका छन्।
जगन्नाथकै धार्मिक प्रभावका कारण गाजेन गाउँमा कुखुरापालन र मदिरा निषेध गरिएको छ। दर्शन र पूजाआजाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास यस मन्दिरसँग जोडिएको छ।




