देश

‘वैकल्पिक विकास वित्त परिचालन विधेयक’ दफावार छलफलका लागि प्रतिनिधिसभाबाट समितिमा पठाइयो

काठमाडौं। प्रतिनिधिसभाले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक-२०८१’ लाई दफावार छलफलका लागि समितिमा पठाएको छ।

सभाको आजको बैठकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राखेको सो विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो।

बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक प्रस्तुत गरेका थिए।

त्यसअघि बैठकमा सभामुख देवराज घिमिरेले सभाअन्तर्गतका विभिन्न विषयगत समितिमा सदस्यको नाम हेरफेरसम्बन्धी प्रस्ताव प्रस्तुत गरे। सो प्रस्तावलाई सभाले सहमति जनाएको थियो।

बैठकले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट २०४८ सालमा प्रतिनिधिसभामा निर्वाचित सांसद खगराज शर्माको यही साउन ५ गते निधन भएकामा उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन २१ गते १:०० बजे बस्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *