काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी स्थायी समिति बैठकले गुटबन्दी अन्त्य गर्ने सामूहिक सङ्कल्प र प्रतिबद्धता गरेको बताएका छन्।
सोमबार पेरिसडाँडामा सम्पन्न स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले पार्टीलाई थप एकताबद्ध बनाउँदै जनतामाझ जाने र मुलुकमा देखिएका बेथितिविरुद्ध आन्दोलन गर्ने निर्णय भएको जानकारी दिए।
“सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन सिङ्गो मुलुकलाई एकताबद्ध गर्ने र आगामी चुनौतीहरू जिम्मेवारीपूर्वक सामना गर्ने निष्कर्षमा पार्टी पुगेको छ,” अध्यक्ष दाहालले भने।




