विश्व

पूर्व इजरायली सुरक्षा प्रमुखद्वारा गाजा युद्ध अन्त्यका लागि पहल गर्न ट्रम्पसँग आग्रह

गुप्तचर निकायका पूर्व प्रमुखसहित सयौं सेवानिवृत्त इजरायली सुरक्षा अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गाजामा युद्ध अन्त्य गर्न सरकारलाई दबाबसहित सहयोग गर्न आग्रह गरेका छन् ।

हमासले अब इजरायलका लागि रणनीतिक खतरा पैदा गर्दैन भन्ने व्यावसायिक निर्णय गरेको पूर्व अधिकारीहरूले सोमबार मिडियामा पेस गरेको खुला पत्रमा लेखेका छन् ।

“सुरुमा युद्ध न्यायपूर्ण रक्षात्मक युद्ध भएपनि हाल युद्ध न्याय विपरित भएको शिन बेट सुरक्षा सेवाका पूर्व निर्देशक अमी अयालोनले बताउनुभएको छ ।

प्यालिस्टिनी लडाकूसमूहसँगको लडाइमा इजरायलले आफ्नो सुरक्षा र पहिचान गुमाइरहेको अयालोनले पत्रको साथमा जारी गरिएको भिडियोमा बताउनुभएको छ ।

शिन बेट र मोसाद जासुसी एजेन्सीका पूर्व प्रमुखसहित ५५० जनाले हस्ताक्षर गरेको पत्रमा ट्रम्पलाई प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई युद्धविरामका लागि ‘नेतृत्व’ गर्न आह्वान गरिएको छ ।

प्यालेस्टिनी लडाकु समूह हमासले सन् २०२३ अक्टोबर ७,मा गरेको घातक आक्रमणको जवाफमा इजरायलले गाजा पट्टीमा आफ्नो सैन्य कारबाही सुरु गरेको थियो ।
पछिल्लो समयमा इजरायली बन्धकहरूलाई गाजाबाट रिहा गर्न, संयुक्त राष्ट्रसङ्घका निकायहरूले मानवीय सहायता वितरण गर्न र युद्धविराममा सहमत हुन इजरायल बढ्दो अन्तर्राष्ट्रिय दबाबमा परेको छ ।

यद्यपि, नेतान्याहुको सरकारका मन्त्रीहरूसहित इजरायलका केही व्यक्तिहरूले इजरायली सेनालाई अगाडि बढ्न र गाजालाई पूर्ण वा आंशिक रूपमा कब्जा गर्न दबाब दिइरहेका छन् ।

उक्त पत्रमा मोसादका तीन पूर्व प्रमुखहरू तामिर पार्डो, एफ्राइम हालेवी र ड्यानी याटोमले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर गर्नेमा थप शिन बेटका पाँच पूर्व प्रमुखहरू अयालोनका साथै नादाव अर्गमान, योराम कोहेन, याकोभ पेरी र कार्मी गिलोन र पूर्व प्रधानमन्त्री एहुद बाराक, पूर्व रक्षामन्त्री मोशे यालोन र डान हालुत्जसहित तीन पूर्व सैन्य प्रमुखहरू छन् ।

पत्रले इजरायली सेनाले बलपुर्वक हमासको सैन्य संरचना र शासनलाई ध्वस्त पार्ने उद्देश्यहरू प्राप्त गरेको जनाएको छ ।

सबैभन्दा महत्वपूर्ण र तेस्रो उदेश्य सबै बन्धकहरूलाई घर ल्याउने सम्झौताबाट प्राप्त गर्न सकिने उल्लेख गरेका छन् ।

पत्रमा पूर्व अधिकारीहरूले ट्रम्पलाई अधिकांश इजरायलीहरूसँग विश्वसनीयता रहेको र युद्ध अन्त्य गर्न र बन्धकलाई फिर्ता गर्न नेतान्याहुलाई दबाब दिन सक्ने बताएका छन् ।

हस्ताक्षरकर्ताहरूले ट्रम्पले हमास शासनको विकल्पको रूपमा गाजाको जिम्मा लिन सुधार गरिएको प्यालेस्टिनी प्राधिकरणलाई समर्थन गर्न क्षेत्रीय गठबन्धनलाई बाध्य पार्नसक्ने तर्क गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *