देश

मुख्यमन्त्री लामाले प्रमुख स्वकीय सचिवमार्फत राजीनामा पत्र बुझाइयो, नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरू

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज पदबाट राजीनामा दिएका छन्। आफ्ना प्रमुख स्वकीय सचिव छत्रबहादुर लामामार्फत प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पत्र बुझाइएको हो।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाका अनुसार दिउँसो १ बजेर केही मिनेटमा मुख्यमन्त्री लामाको राजीनामा पत्र प्राप्त भएको हो। “प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अहिले कार्यालय फर्किसक्नुभएको छ, नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया छिट्टै सुरु हुन्छ,” सापकोटाले जानकारी दिए।

मुख्यमन्त्री लामाले आइतबार साँझ पत्रकार सम्मेलनपछि राजीनामा बुझाउन हेटौँडास्थित प्रदेश प्रमुख कार्यालय पुगेका थिए। तर प्रदेश प्रमुख देवकोटा अनुपस्थित रहेकाले उहाँ फर्किएका थिए। त्यसपछि राजीनामा पत्रमा हस्ताक्षर गरी प्रमुख स्वकीय सचिवमार्फत पत्र बुझाउनुभएको हो।

पार्टी संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा लामाले राजीनामा दिएका हुन्। अब कांग्रेस संसदीय दलको नेता बानियाँको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।

संभावित रूपमा प्रदेश प्रमुख देवकोटाले आजै नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया थाल्ने बताइएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *