रसुवा। पुत्रदा एकादशी पर्वका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नानका लागि भक्तजनहरूको भीड बढ्दै गएको छ। एकादशीदेखि जनैपूर्णिमा सम्म विशेष पर्वको अवसरमा सयौं भक्तजन गोसाइँकुण्डतर्फ सुलाद्री पर्वतको आरोहण गरिरहेका छन्।
धार्मिक विश्वास अनुसार एकादशीका दिन बाँझोपन भएका महिला–पुरुषले गोसाइँकुण्डमा स्नान गरी पूजाआराधना गर्दा भगवान् शिवको आशिर्वादले सन्तान प्राप्त हुने विश्वास गरिन्छ। साथै अन्जानमा भएका पापमोक्ष हुने धार्मिक मान्यता पनि रहेको छ। समुद्र सतहदेखि ४,३८० मिटर उचाइमा अवस्थित गोसाइँकुण्डमा स्नान र पूजाआराधना गर्ने परम्परा छ।
गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमका अनुसार यस वर्ष जनैपूर्णिमा सम्म १५ हजार भक्तजनले स्नान गर्ने अनुमान गरिएको छ। ‘पुत्रदा एकादशीको दिन मात्रै पाँच सयभन्दा बढी भक्तजन लौरीविनायक हुँदै गोसाइँकुण्ड पुग्ने क्रममा छन्’, डिएमले जानकारी दिए।
भक्तजनका लागि धुञ्चेदेखि खन्तिसम्म मार्गको सरसफाइ, खानेपानी, अस्थायी आवास (थर्कु), तातोपानीको व्यवस्था गरिएको छ। गोसाइँकुण्ड, बुद्वमन्दिर, चोलाङपाटी, चन्दनवारी, देउराली, तिवारी बगर र धुञ्चे क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराइएको छ। हिमालय उद्वार संघ, पञ्चधाम समिति, ग्रिनसिटी अस्पताल, गोसाइँकुण्ड गाउँपालिका, जिल्ला आयुर्वेदिक औषधालय र नेपाली सेनाको संयोजनमा स्वास्थ्य सेवा सञ्चालनमा रहेको समितिले जनाएको छ।
गोसाइँकुण्ड जाने तीर्थयात्रीहरूको सुरक्षाका लागि बेत्रावतीदेखि गोसाइँकुण्डसम्म सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।
स्नानका क्रममा एकापसमा बलियोसँग हात समाएर मात्र डुबुल्की मार्न प्रहरी नायव उपरीक्षक हेमबहादुर मल्लले यात्रुहरूलाई आग्रह गरेका छन्।




