काठमाडौं । जतिखेर पहिचानसहितको सङ्घीयताको मुद्दाले सडक बलिरहेको थियो । पहिलो संविधानसभा विघटन उन्मुख थियो ।
सदियौँदेखि राज्यबाट दमित जनजाति, सीमान्तकृत समुदाय दिउँसो पत्थर र साँझमा राँको लिएर काठमाडौँका सडकमा ओर्लिएका थिए । कोटेश्वरस्थित किरात राई यायोक्खाको हलमा गर्मागर्मी बहस हुन्थ्यो ।
विभिन्न राजनीतिक दलका कतिपय नेताहरू पार्टीभित्रै विद्रोहको शङ्खघोष गरिरहेका थिए । पहिचानको मुद्दा परालको कुन्यूमा आगो सल्काएझैँ धुवाँधुवाँ थियो ।
त्यही बेला यायोक्खाकै हलमा कवि भूपाल राईले भनेका थिए, ‘पहिचानको कुरा गर्दा मलाई धेरैले तपाईँ कहिलेदेखि माओवादी हुनुभयो ? भनेर सोध्छन् । तर वास्तवमा म माओवादी बनेको हैन, माओवादी चाहीँ म जस्तै बनेको हो ।’
ठ्याक्कै यही प्रसङ्ग पढ्न पाइन्छ राईको पछिल्लो निबन्ध सङ्ग्रह ‘शब्द सायारेम’को ‘एउटा गीतको सङ्कटकालीन कथा’ शीर्षकृत निबन्धको अन्तिम परिच्छेदमा । नेपालमा प्रजातन्त्र स्थापनापश्चात् उनले लेखेका एउटा गीतलाई पञ्चायती र एकल नश्लीय सोचबाट ग्रसित तत्कालीन राज्यका निकायले कसरी प्रतिबन्धित ग¥यो ? भन्ने प्रसङ्ग लेखकले रोचक रुपमा प्रस्तुत गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति समेत रहेका राईको पहिलो निबन्ध सङ्ग्रह हो, ‘शब्द सायारेम’ । यसको अर्थ चाम्लिङ राई भाषामा ढलेका शिरहरू उठाउने कार्य वा अनुष्ठान हो ।
लेखककै भाषामा भन्नुपर्दा यी ढलेका शिर उठाउने काम खाली दिवङ्गत पितृहरूका लागि मात्र समर्पित नभई सीमान्तकृत समुदायमाथि राज्यले गरेको विभेदका कारण ढलेका शिरहरू उठाउने शाब्दिक अनुष्ठान पनि हो ।
अधिकांश कविता र गीतमा आगो ओकल्न सक्ने एक विद्रोही चेतका कवि राईलाई त्यो माया प्रेमका कविता सिर्जना गर्ने उमेरमा कसरी विद्रोह चेतको बिजारोपण भयो ? त्यसका पछाडि कुन अजीव चिज थियो होला जसले भूपाल राईलाई सधैँ अरूभन्दा भिन्न हुन प्रेरित गरिरह्यो ? उनका दुई आदर्श पात्रहरू ‘आदिकवि कविले कामी र राष्ट्रकवि सोताङ्गे जेठालाई सम्बोधन’ निबन्धमा उनले यी विषयमाथि बेजोड चिन्तन गरेका छन् ।
मेरो नजरमा यस निबन्ध सङ्ग्रहको सम्भवतः सबैभन्दा सशक्त निबन्ध हो, ‘तपाईँको पहाड घर कहाँ हो ?’ यस निबन्धमा उहाँले अहिलेसम्म इतिहासमा राजा महेन्द्रलाई जसरी एक राष्ट्रवादी र विकासका प्रणेताका रुपमा अथ्र्याइएको थियो । त्यसलाई आलोचनात्मक सिद्धान्तको जगमा उभिएर घून मकै केलाउने प्रयत्न गरेका छन् ।
पुनर्वास कम्पनी, पूर्व–पश्चिम महेन्द्र राजमार्ग र मलेरिया उन्मूलन उपशीर्षकमा उनले महेन्द्रीय राष्ट्रवादले कसरी नेपालका आदिवासी समुदायका छातीमा बुट बजार्ने काम ग¥यो ? भनेर अकाट्य तर्कहरू पेस गरेका छन् । अझ उनले २०७२ सालमा टीकापुरमा भएको नरसंहार त्यही राष्ट्रवादी आगोको बीउ रहेको दाबी गरेका छन् ।
अमेरिका पत्ता लगाएका इटालियन अन्वेषक क्रिष्टोफर कोलम्बसलाई विम्ब बनाएर उनले कसरी आदिवासीका इतिहास नामेट पार्ने काममा नश्लीय शासकहरू उद्दत छन् भनेर ‘कोलम्बस पाइलाः रैथाने ज्ञानको अनन्त दुःख’मा केही तथ्यसहित वर्णन गरेका छन् ।
उनले भनेका छन्, ‘तपाईँलाई लाग्ला कोलम्बस उहिले मरिसक्यो । तर, हेक्का रहोस्, कोलम्बस अझै मरेको छैन । त्यो एउटै फ्याक्टर नयाँ नयाँ संस्करणमा हरेक ठाउँ, हरेक समय दोहोरिरहेको छ ।’
दलित भएकै कारण काठमाडौँमा डेरा नपाएकी रुपा सुनारको कथालाई लिएर जातीय विभेदको सिकार भोगिरहेका विभिन्न उत्पीडित समुदायको वास्तविकता पस्किने प्रयास राईले ‘म महान् बन्न सक्दिनँ, रुपा’ निबन्धमा गरेका छन् ।
सो निबन्धमा उनले झण्डै आजभन्दा ४५ वर्षअघि बाल्यकालमा आफ्नै विद्यालयका गुरुमार्फत भोगेका एक दर्दनाक विभेदको घटनालाई उदाहरणको रुपमा प्रस्तुत गरेका छन् । जुन घटनाका कारण उनको मानसिकतामा पर्न गएको प्रभाव उनको लेखनीमा देखिएको राईको जिकिर छ ।
जम्मा १८ वटा निबन्ध सङ्ग्रहित यस सङ्ग्रहमा ‘राइन किनारमा शेर्पा दाई’, ‘हङकङ, जहाँबाट संसार सुरु हुन्छ’, ‘माक्र्सलाई लालसलाम गर्दाको त्यो साँझ’ संस्मरणात्मक निबन्ध हुन् ।
यी संस्मरणात्मक निबन्धहरूमा लेखकले कतै पाठकलाई समेत सोचमग्न बनाउने प्रश्न गर्नुभएको छ भने कतै लेखकसँगै पाठकलाई यात्रा गराउन सफल भएका छन् । राइन किनारमा शेर्पा दाइ निबन्धमा उहाँले जर्मनी यात्राका क्रममा राइन नदीको किनारैकिनार रेलमा गुडिरहेका बेला भोगेको एक संयोगको फेहरिस्त कहेका छन् । जब उनलाई नेपाल नाम कहिल्यै नसुनेका केही जर्मन किशोरीहरूले ‘शेर्पा ब्रदर’ भनेर बोलाए, आखिर देश भनेको के रहेछ त ? भन्ने प्रश्नले लेखकको मथिङ्गल हल्लाएको छ ।
उनले भनेका छन्, ‘देश भनेको त भूगोल मात्र होइन रहेछ । राजकीय ऐनामा सर्वदा दाहोरिइरहने शासकको अनुहार मात्र पनि होइन रहेछ । देश त सत्ताको ऐनामा कहिल्यै नदेखिने मान्छेहरूको चित्र रहेछ । ती मान्छेका धूमिल अनुहारहरू रहेछ…’
केही निबन्धहरू लेखकका वेदनात्मक उद्घाटन छन् । जस्तै, ‘भाइको चिहान र कदमको रुख’, ‘त्यसपछि आमा माकुरा हुनुभो’, ‘जसलाई माटो समेत दिन पाइएन’, जस्ता निबन्धले पाठकलाई भावविभोर बनाउँछ ।
लेखकले एक सुदूर अतीतको सन्दर्भ कोट्याएर लेखेको ‘कहाँ गए गीतका ती भरियाहरू !’ शीर्षकको निबन्धले पचासको दशक सम्ममा जन्मिएका पुस्तालाई ‘नोस्टाल्जिक’ बनाउँछ । खासगरी उनले लेखेका चर्चित गीत, सुनकै भाउ छ सुन्तला भारीको, चाखी जानु भन्ने मनकारीको, खै त बुटजुत्ता, कतिञ्जेल धाउँछौँ दाइ धरान–धनकुटा…गीतको भ्रूण कथा हो यो । २७/२८ सालतिर धरान–धनकुटामा पैदल हिँड्दा भेटिने ती दृश्यहरूलाई उनले गीतमा उन्नुभएको सन्दर्भ केलाएका छन् ।
भरियाको निधारका नाम्लो, काँधको खकन, ढाकर टेकाउने तोक्मा र पसिना पुछ्ने रुमालको सम्झना गीतको माध्यमबाट गर्नु भएको प्रसङ्ग उल्लेख गरेका छन् । साँगुरी भञ्ज्याङजस्तै अग्ला र सुनजस्ता पहेँलै सुन्तलाका भारी बोकेर धनकुटाको खोकु छिन्ताङदेखि धरानतर्फ झरेका भरियाहरूको दृश्य अबका पुस्ताले कहिल्यै देख्न नपाउनेमा उनी ढुक्क छन् ।
बाजेले सोधे, ‘राजा सञ्चै छन् ?’, ‘मेरो दाहिने हातको कथा’, ‘प्रिय जीवनका अप्रिय तीन घटना’ लगायतका निबन्धमा लेखक स्वयंको जीवनमा घटित घटनाका गहिरो प्रभाव पढ्न पाइन्छ । यसभित्र आफू हुर्केको समाज, सामाजिक अन्धविश्वास, धर्म, सांस्कृतिक चेतना सबै विषय मिठासपूर्ण रुपमा उद्घाटित छन् । एक व्यक्तिको जीवनलाई फरक फरक आयामबाट विश्लेषण गर्न सकिने रहेछ भन्ने यस सङ्ग्रहका निबन्धले पुष्टि गरिदिन्छ ।
बुकहिलले बजारमा ल्याएको २१४ पृष्ठको ‘शब्द सायारेम’ एकै बसाईँमा पढ्नमा सकिन्छ । यस सङ्ग्रहका कतिपय निबन्ध विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । संक्षेपमा भन्नुपर्दा यो सङ्ग्रह सामाजिक, सांस्कृतिक विभेदविरुद्ध आलोचनात्मक चेतसहितको सङ्गालो हो । यसले सदियौँदेखि जरा गाडेको विभेदरुपी समाजका लागि कैयन विमर्शयोग्य प्रश्न गरेको छ ।
यद्यपि लेखक पनि त्यही समाजको उत्पादन भएकाले कतिपय दुबिधाहरू निबन्धभित्र देखिनु स्वाभाविक हो । जस्तो कि उनले ‘मेरो दाहिने हातको कथा’ निबन्धमा देब्रे अर्थात् बायाँलाई अशुभझैँ मानिनु एक अन्धविश्वास मात्र हो भन्ने भाव प्रस्तुत गरेका छन् भने उनकै ‘एउटा गीतको सङ्कटकालीन कथा’ शीर्षकृत निबन्धमा उल्लेखित गीतको एउटा अन्तरामा भनिएको छ, ‘उठी हिँड्नेलाई यात्रा दायाँ छ, थाकी बस्नेलाई छाँयैछायाँ छ…’
LOL




