मुख्य समाचार

३१ लाखबाट ११ लाखमा झर्नुमा म मात्र दोषी हुँ?” — जनार्दनको प्रचण्डमाथि कडा कटाक्ष

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रस्तुत प्रतिवेदनमाथि छलफल जारी रहँदा उपमहासचिव जनार्दन शर्माले आफ्नो आलोचना प्रति कडा प्रतिक्रिया दिएका छन्।

बैठकमा नेताहरूले शर्माको टिप्पणीमाथि आलोचना गर्दै पार्टीको वर्तमान अवस्था र कमजोरीबारे आ–आफ्नो धारणा राखिरहेका छन्। तर, शर्माले आफूलाई अनावश्यक रुपमा निशाना बनाइएको भन्दै अध्यक्ष प्रचण्डसहितका नेताहरूमाथि प्रतिवाद गरेका छन्।

शर्माले भने, “मैले पार्टी निर्माणका लागि सबैका सामु प्रश्न उठाएँ। अरुले भित्रभित्रै यो पार्टी बन्दै बन्दैन भन्दै हिँडेका छन्। तर म प्रश्न उठाएको सजाय भोग्न तयार छु।”

उनले पार्टी फुट्ने दुष्प्रचारको पनि खण्डन गर्दै थपे, “पार्टी फुट्छ भन्ने दुष्प्रचार खारेज गर्छु। जति धकेल्न खोजे पनि म पार्टीमा अड्डिरहन्छु।”

पछिल्लो चुनावमा पार्टीको मत घटेको सन्दर्भ उठाउँदै शर्माले आत्मालोचनाको चुनौतीसमेत दिए। “३१ लाखबाट ११ लाख मतमा झरेको जिम्मा मेरो हो भने म आत्मालोचना गर्न तयार छु। हैन भने, जहाँबाट कमजोरी देखिन्छ, त्यहीँ आत्मालोचना हुनुपर्छ,” उनले प्रष्ट पारे।

माओवादी केन्द्रको बैठक जारी छ र स्थायी कमिटी सदस्यहरूले अध्यक्षको प्रतिवेदन र पार्टीको वर्तमान राजनीतिक दिशा माथि धारणा राखिरहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *