देश

यो वर्षभित्र हुलाक टिकट सुरक्षण मुद्रण केन्द्रले छाप्छः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आगामी दिनमा हुलाक टिकट सुरक्षण मुद्रण केन्द्रमार्फत प्रकाशन गरिने जानकारी दिएका छन्।

शुक्रवार हुलाक सेवा विभागद्वारा प्रकाशित १४ नयाँ टिकटको आवरण सार्वजनिक गर्दै मन्त्री गुरुङले अबदेखि हुलाक टिकट छपाइको जिम्मा मन्त्रालय अन्तर्गतकै सुरक्षण मुद्रण केन्द्रलाई दिइने स्पष्ट पारे। हालसम्म जनक शिक्षा सामग्री केन्द्रमार्फत हुलाक टिकट छापिँदै आएको थियो।

“अबदेखि बैंक नोटबाहेकका सबै महत्त्वपूर्ण राष्ट्रिय कागजातहरू पनि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रबाटै प्रकाशन हुनेछ,” मन्त्री गुरुङले बताए। साथै, उनले हुलाक टिकटलाई नेपालको कला, संस्कृति, इतिहास, रैथाने परम्परा र कृषि प्रणालीको संरक्षण तथा प्रचारमा प्रभावकारी माध्यमको रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए।

हुलाक सेवा विभागले प्रकाशनमा ल्याएका नयाँ टिकटहरूमा नेपालका प्रसिद्ध जात्राहरू (विस्केट, हाँडीगाउँ, गाईजात्रा), ऐतिहासिक मन्दिरहरू (बालकुमारी मन्दिर – ठेचो, सप्त देवल – दैलेख, कोटदेवी – भक्तपुर, भीमसेन – गोरखा, बैतेश्वर महादेव – दोलखा), प्राचीन प्रस्तर मूर्तिहरू (भगवान् विष्णु – सर्लाही, श्रीस्वस्थानी – काठमाडौं), र शिक्षाविद्हरू (ई. कुलरत्न तुलाधर, शङ्करदेव पन्त, पं. ऋषिराम पन्थी) समावेश गरिएको छ।

कार्यक्रममा ‘नेपाल हुलाक टिकट (वि.सं. १९३५–२०८२)’ शीर्षक पुस्तकको पनि विमोचन गरिएको थियो। पुस्तकमा हुलाक घर नाम राखिएको वि.सं. १९३५ सालदेखि हालसम्म प्रकाशित सबै टिकटहरूको विवरण समेटिएको छ।

विभागकी महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले हुलाक टिकट नेपालको इतिहास स्मरण गराउने सांस्कृतिक दस्तावेज भएको उल्लेख गर्दै देशविदेशमा यसको प्रचार र पर्यटन प्रवर्द्धनमा विभागले थप काम गर्ने बताइन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *